काठमाडौं । ताजकिस्तानमा जारी थ्री नेशन्स कपमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अफगानिस्तान ११ वर्षपछि आमने सामने हुन लागेका हुन् ।
पहिलो खेलमा घरेलु टोलीसँग चार-शून्य गोलले पराजित भएको नेपाल पुनरागमनको प्रयासमा छ । डुसान्बेस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे हुनेछ । नेपालले हिजो यही मैदानमा अभ्यास पनि गरेको थियो । नेपालले यसअघि सन २०१३ मा काठमाडौंको दशरथ रंगशालामा अफागानिस्तानसँग खेलेको थियो ।
साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तान एक-शून्य गोलले विजयी भएको थियो । सो खेलमा रोहित चन्द पेनाल्टीमा चुकेका थिए । रोहित अहिले नेपाली टोलीका मुख्य डिफेन्डर हुन् । समग्रमा नेपाल र अफगानिस्तान बीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा तीनमा नेपाल र दुईमा अफगानिस्तान विजयी हुँदा एक खेल बराबरीमा सकिएको थियो ।
अहिले अफगानिस्तान बलियो बनिसकेको छ । फिफा वरियतामा नेपाल भन्दा अफगानिस्तान २५ स्थान माथि छ । जारी मैत्रीपूर्ण खेलमा अफगानिस्तान पहिलो खेल खेल्दैछ । स्ट्राइकर अन्जन बिस्टका लागि कीर्तिमान बनाउने अवसर पनि छ । यदि उनले आज गोल गरे नेपालबाट पुरुषतर्फ सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनेछन् ।
उनले अहिले सम्म १३ गोल गरेका छन् ।