काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको चार खेलको टी-ट्वेन्टी आई सिरिज जितेको छ । निर्णायक खेलमा घरेलु टोली १ सय ३५ रनको फराकिलो अन्तरले पराजित हुँदा तिलक बर्मा र सञ्जु सामसनले कीर्तिमानी शतक प्रहार गरे । रनको हिसाबले दक्षिण अफ्रिकासँग भारतको टी- ट्वेन्टी आईमा यो सबैभन्दा ठूलो जित हो ।
जोहानेसबर्ग स्थित द वन्डरर्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा मात्र एक विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल बनाएको थियो । दक्षिण अफ्रिकामा टी-ट्वेन्टी आईमा बनेको यो अहिले सम्मकै ठूलो स्कोर हो । अभिषेक शर्मा ३६ रनमा लुथो सिपाम्लाको बलमा आउट भए ।
दोस्रो विकेटका लागि तिलक र सञ्जुले दुई सय दश रनको साझेदारी गरे । यो टी-ट्वेन्टी आईमा भारतका लागि कुनै पनि विकेटको उच्च साझेदारी हो । सञ्जुले ५६ बलमा १ सय ९ रनको इनिङस खेले । उनको करियरको यो तेस्रो टी-ट्वेन्टी आई शतक हो । सञ्जुले ६ चौका र नौ छक्का प्रहार गरेका थिए । तिलकले ४७ बलमा १ सय २० रन बनाए । उनको यो लगातार दोस्रो शतक हो ।
भारत, चेक रिपब्लिक र जापान पछि एकै इनिङस मा दुई खेलाडीले शतक बनाउने तेस्रो राष्ट्र बनेको छ । जवाफमा दक्षिण अफ्रिका १८ ओभर दुई बलमा १ सय ४८ रनमा अल आउट भयो । शीर्ष तीन ब्याटर रेजा हेन्डरिक्स शून्य, रायन रिकेल्टन एक र एइडेन माक्रम ८ रनमा पभेलियन फर्किए ।
ट्रिस्टन स्टबसले ४३ र मार्को यानसेनले अविजित २९ रन बनाएका थिए । अर्शदीप सिंहले तीन , वरुण चक्रवर्ती र अक्सर पटेलले दुई दुई विकेट लिएपछि भारतले तीन एकले सिरिज कब्जा गरेको हो ।