काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ ।
विश्व च्याम्पियन र लियोनेल मेसीको टिमलाई निरास पार्ने क्रममा पाराग्वेले अर्जेन्टिनाविरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो । असुन्सियनमा अर्जेन्टिनामाथि पाराग्वेको यो तेस्रो जित हो ।
डिफेन्सोरेस डेल चाको स्टेडियममा घरेलु टोली पाराग्वेले १ गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित हासिल गरेको हो । यस जितले पाराग्वेले विश्वकपमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । ११ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो ।
तर, १९ औं मिनेटमा एन्टोनियो सानाब्रियाको उत्कृष्ट बाइसाइकल किकले जाली चुमेपछि पाराग्वेले खेलमा कमब्याक गर्यो । पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि दोस्रो हाफ थप रोमाञ्चक बनेको थियो । दोस्रो हाफको सुरुवातमै ओमार एल्डेरेटको हेडरले पोस्टको दिशा लिएपछि पाराग्वेले २-१ को अग्रता बनायो । त्यसपछि थप गोल हुन नसक्दा घरेलु टोली विजयी भयो ।
यो जितसँगै पाराग्वेले ११ खेलमा १६ अंक जोड्दै विश्वपकमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । पाराग्वे तालिकाको छौटौं स्थानमा छ । समान खेलमा अर्जेन्टिना २२ अंकसहित कन्मेबोल विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा कायम छ ।