काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सलिना श्रेष्ठले भलिबल खेल्न उचाइले नछेक्ने बताएकी छिन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ २०२४ को दोस्रो दिनको तेस्रो सत्र मैदानमा महिला नायक सत्रमा उनले यस्तो बताएकी हुन् ।
उचाइकै कारण आफू दुई पटक खेलबाट फ्यालिए पनि भलिबल खेल्नका लागि उचाइ नचाहिने कुरा आफूले प्रमाणित गरेको उनले बताइन् ।
सलिनाले भनिन्, ‘म पहिले खेल्दा त मेरो उचाइको हिसाबले बाधा हुँदा पनि धेरैले मलाई भलिबल खेलाडी नै हो भन्थे, तर म यो नै मेरो प्यासन हो भनेर खेलिनै राख्छु भने । उचाइकै कारण म दुई पटक खेलबाट फ्यालिए । मानिसले पनि सानो मानिसले भएर खेल्न सकिन्छ भन्ने चाहिँ भयो। मेरो पोजिसन लिब्रो हो। यसमा मुभमेन्ट धेरै गर्नु पर्छ। मेरो पोजिसनमा उचाइ धेरै चाहिँदैन भन्ने प्रमाणित गरिदिएकी छु।’
दुई पटक फालिएपछि तेस्रो पटक भने आफ्नो खेल हेरेर नै राष्ट्रिय खेलमा छनोट हुन सफल भएको उनको अनुभव छ । पछिल्लो समय सानो मान्छे भएर पनि भलिबल खेल्न सकिन्छ भन्ने प्रमाणित भइसकेको उनले दाबी गरिन् ।
पहिलाको हेरेर पछिल्लो समय भलिबल खेलमा धेरै विकास भइसकेको उनले बताइन् । 'पहिला महिला भन्ने बित्तिक्कै आफ्नै परिवार वा समाजले पनि भलिबल खेल्न दिँदैन थियो,' उनले भनिन्, 'छोरी मान्छे भएपछि पढाइमा मात्र ध्यान दिए हुन्छ भन्थे । खेल्नु पर्दैन भन्थे ।'