दार्चुला । दार्चुलाको मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालीन जात्राबाट फर्कने क्रममा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा आज बिहान ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर–५ लेक गाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय संजिव बोहरा, भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम छन् ।
मृतक ७ मध्ये एक जनाको सनाखत हुन बाँकी रहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताउनुभयो । मृतकमध्ये चार जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।