कांग्रेसका लथालिङ्ग भ्रातृ संस्था कहिले हुन्छन् चलायमान ?

कार्तिक ३०, २०८१ |प्रकाश बम
कांग्रेसका लथालिङ्ग भ्रातृ संस्था कहिले हुन्छन् चलायमान ?

काठमाडौं । सत्ताको प्रमुख दल नेपाली कांग्रेसको संगठन कमजोर बन्न थालेको छ । नेताहरु सत्तामा रमाइरहँदा पार्टीका गतिविधि सुस्त छन् । गाउँ-गाउँमा पुगेर संगठन विस्तार गर्ने र ५ देखि ७ लाख नयाँ सदस्य थप गर्ने योजना पनि अलपत्र परेको छ । लथालिङ्ग भएका भ्रातृ संस्थालाई चलायमान बनाउने घोषणा केबल औपचारिकतामा सीमित छ ।

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन टुटेर २०८० साल फागुनमा प्रतिपक्षीमा पुगेपछि नेपाली कांग्रेसले अब पार्टी निर्माणमा जुट्ने भनेको थियो । तर पुन: एमालेसँग गठबन्धन गरेर सत्तामा पुगेको कांग्रेस त्यसैमा भुलेर पार्टी निर्माणमा लाग्न सकेको छैन । कांग्रेसका सबैजसो संगठनहरु अहिले शिथिल अवस्थामा छन् । गत भदौमा बसेको केन्द्रीय समिति बैठकले एक सय दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेर जिल्ला–जिल्लामा प्रतिनिधि खटाए पनि प्रभावकारी बन्न सकेन । नेताहरु सत्तामै रमाउँदा पार्टी गतिशील हुन नसकेको हो ।

कांग्रेसले सांगठनिक गतिविधि प्रभावकारी बनाउने मात्र भनेको थिएन, पार्टीमा ५ देखि ७ लाख नयाँ सदस्य थप्ने योजना सार्वजनिक गरेको थियो । तर अहिलेसम्म कति सदस्य थपिए भन्ने तथ्यांकसमेत छैन ।

लामो समयदेखि अधिवेशन हुन नसकेका कांग्रेसका भ्रातृ संगठनहरु लथालिंग छन् । संगठनहरूको महाधिवेशन गराउन अधिकार सम्पन्न फरक-फरक निर्देशक समिति गठन भएका छन् । ती समितिलाई महाधिवेशनको कार्यतालिका बनाउनेदेखि विधानमा समयानुकूल परिमार्जन गर्नेसम्मको अधिकार दिइएको छ । २०८१ चैतसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिइए पनि निर्देशक समितिहरूले अहिलेसम्म के गरेर बसेका छन् पत्तो छैन ।

कांग्रेसको विधानमा पार्टीको महाधिवेशन भएको ६ महिनाभित्र मातहतका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था छ । तर कांग्रेसले अहिलेसम्म कार्यसम्पादन र केन्द्रीय समितिलाई समेत पूर्णता दिन सकेको छैन । विभागहरू गठन गर्ने र नेता तथा कार्यकर्तालाई जिम्मेवारी हस्तान्तरण गरी पार्टीलाई चलायमान बनाउन नेतृत्वको प्राथमिकतामै परेको छैन । सत्तामा रमाउँदै आएका नेताहरुले पार्टी संगठनतिर ध्यान नदिँदा कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ता अलमलमा परेको देखिन्छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।