काठमाडौं । इटाली र फ्रान्स एक खेल अगावै नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति सम्पन्न खेलमा बेल्जियमलाई १-० ले पराजित गर्दै इटालीले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । सान्ड्रो टोनालीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि इटालीले बेल्जियमलाई हराएको हो । खेलको ११ औं मिनेटमा न्युक्यासलका मिडफिल्डर जियोभानी डि लोरेन्जोको पासमा टोनालीले ६ गजको दुरीबाट प्रहार गरेको गोल नै निर्णायक साबित भयो ।
जितसँगै लिग ए समूह दुईमा ५ खेलमा १३ अंक जोडेको इटालीले मार्चमा हुने क्वार्टरफाइनलमा स्थान बनाएको हो । पराजित बेल्जियमको समान खेलमा ४ अंक छ । यसै समूहको अर्को खेलमा फ्रान्सले इजरायलसँग गोलरहित बराबरी खेल्यो ।
अंक बाडे पनि फ्रान्सले अन्तिम ८ मा स्थान बनायो । फ्रान्सले खेल अवधिभर २४ सट प्रहार गरे पनि गोल गर्न सकेन । इजरायलका गोलरक्षक ड्यानियल पेरेजले आठ पटक बचाउ गरे । यसै समूहको सोमबार हुने इटाली र फ्रान्सबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्ने छ ।
इजरायल र बेल्जियमको खेलपछि एक टोली रेलिगेसन हुने छ भने अर्को टोलीले रेलिगेसन-प्रमोसन प्ले अफको सामना गर्नेछ ।