काठमाडौं । इंग्लिस अलराउन्डर रवि बोपाराले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएकमा छन् ।
चितवनले सामाजिक सञ्जाल मार्फत इंग्ल्यान्डका भेट्रान अलराउन्डरलाई अनुबन्धित गरेको जनाएको हो । कुशल मल्ल मार्की रहेको चितवनले पाँचौं विदेशी खेलाडीको रुपमा बोपारालाई अनुबन्धि गरेको हो ।
३९ वर्षीय बोपाराले ३८ टी-२० आई खेलको ३५ इनिङमा १ शतक र १४ अर्धशतकसहित ७ सय ११ रन बनाउँदा २१ इनिङ्समा १६ विकेट लिएका छन् । आईपीएलसहित विश्व भरका लिगमा प्रभावशाली प्रदर्शन गरेका बोपाराले समग्रमा ४ सय ७८ टी-ट्वेन्टी खेलमा ९ हजार ४ सय ४८ रन तथा २ सय ९१ विकेट लिएका छन् । इंग्ल्यान्डका लागि १ सय २० ओडीआईमा २ हजार ६ सय ९५ रन र ४० विकेट लिएका बोपाराले १३ टेस्ट पनि खेलेका छन् ।
यस अघि चितवनले विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका जान निकोल लफ्टी इटनलाई अनुबन्धित गरिसकेको छ ।
टिमको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल रहेका छन् । ८ टिमको सहभागिता रहेको एनपीएल मंसिर १५ गतेदेखि सुरु हुने छ ।