काठमाडौं । भ्रमण टोली इंग्ल्यान्डले वेस्ट इण्डिजविरुद्धको ५ खेलको सिरिज आफ्नो पक्षमा पारेको छ । इंग्ल्यान्डले लगातार सिरिजका सुरुवाती ३ खेल जित्दै दुई खेल अगावै सिरिज कब्जा गरेको हो । इंग्ल्यान्डले सिरिजमा ३-० को अग्रता समेत बनाएको छ ।
आज बिहान ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । सुरुवातमा ब्याटिङ गरेको घरेलु टोली वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको थियो । वेस्ट इण्डिजका लागि रोमारिया शेर्फडले ३० रन बनाए । कप्तान रोभमन पावेलले सर्वाधिक ५४ रनको योगदान दिए । अल्जारी जोसेफ २१ रनमा नटआउट रहे । इंग्ल्यान्डका लागि सकिब मोहम्मद र जेमी ओभरटनले ३-३ तथा जोफ्रा आर्चरले १ विकेट लिएका थिए ।
जवाफमा १ सय ४६ रनको लक्ष्य इंग्ल्यान्डले ४ बल बाँकी रहँदै ७ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डका लागि ओपनर विल ज्याक्सले ३२, साम करनले सर्वाधिक ४१ र लियम लिभिङ्गस्टोनले ३९ रन बनाए । वेस्ट इण्डिजका लागि अकिल होसेनले ४ तथा अल्जारी जोसेफ र गुणकेश मोटीले समान १-१ विकेट लिए ।
इंग्ल्यान्डले सुरुवाती ३ खेल क्रमस ८ विकेट, ७ विकेट र ३ विकेटले जितेको थियो । दुई टोली बीचको चौथो खेल आइतबार र पाँचौं खेल सोमबार हुनेछ ।