रुपन्देहीमा रविको लिखित बयान सकियो, पोखरा भोलि मात्रै लगिने

कार्तिक २९, २०८१ |अमृता अनमोल
रुपन्देहीमा रविको लिखित बयान सकियो, पोखरा भोलि मात्रै लगिने

बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान सकिएको छ । 

कास्कीबाट बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेको मंगलबारदेखि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान सुरु गरिएको थियो । ३ दिनमा साढे घण्टा बयान लिइएको सरकारी न्यायाधिवक्ता पौडेलले बताउनुभयो । त्यसक्रममा लामिछानेलाई ७४ प्रश्न सोधिएको थियो । सरकारी वकिलको कार्यालयले  बयानका आधारमा प्रतिवेदन तयार गर्ने छ । 

लामिछानेको लिखित बयानमा सरकारी न्यायाधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता थियो । बयान सकिए लगत्तै लामिछानेलाई कडा सुरक्षा घेरामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रंजीतसिंह राठौरले बताउनुभयो ।

प्रहरीले बयान सकिए लगत्तै आजै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धएयर मार्फत कास्की पठाउने तयारी गरेको थियो । यद्यपि बाक्लो हुस्सुका कारण साझको विमान नउडेपछि लामिछानेलाई रुपन्देहीमै राखिएको हो । अब लामिछानेलाई शुक्रबार मात्रै कास्की पठाइने छ ।

मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र लैजाने गरिएको थियो ।

बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शन गरेका थिए । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न बन्देज गरेको थियो ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement