काठमाडौं । विश्व नम्बर एक यानिक सिनर एटिपी फाइनल्सको अन्तिम चार नजिक पुगेका छन् । समुहको आफ्नो दोस्रो खेलमा इटालियन सिनरले अमेरिकाका टेलर फ्रिट्जलाई सोझो सेटमा पराजित गरेका हुन् ।
ट्युरिनमा भएको यो खेलमा घरेलु खेलाडी सिनरलाई इटालियन फुटबल लेजेन्ड आन्द्रे पिर्लो सहित १२ हजार समर्थकले साथ दिएका थिए । २३ वर्षीय उनले पहिलो सेट ६-४ ले जिते । उच्च र्फममा रहेका सिनरले दोस्रो सेट पनि ६-४ ले नै आफ्नो पक्षमा पारेका हुन् ।
जारी प्रतियोगितामा सिनरको यो लगातार दोस्रो जित हो । गत सेप्टेम्बरमा भएको यूएस ओपन फाइनलमा पनि सिनरले फ्रिट्जलाई नै पराजित गरेका थिए । सन् २०२४ मा सात टुर उपाधि जिती सकेका सिनरले पाँचौ वरियताका फ्रिट्जलाई हराउन सहज भने नभएको प्रतिृकया दिए । उनको ७३ खेलमा यो ६७ औं जित हो । अर्को खेलमा रुसका ड्यानियल मेदभेदेभले पनि जित हात पारे ।
उनले अस्ट्रेलियाका एलेक्स डि मिनोलाई सोझो सेटमा नै हराएका हुन् । विश्व वरियताको चौथो स्थानमा रहेका मेदभेदेभले समुहको आफ्नो पहिलो खेलमा फ्रिट्जसँग पराजय बेहोरेपछि सामान प्याक गरिसकेको बताएका थिए । तर २०२० का च्याम्पियन उनले दोस्रो खेलमा मास्टरक्लास प्रदर्शन गरे । उनले ६-२, ६-४ को सेटमा डि मिनोलाई हराएका हुन् ।
समुहको अन्तिम खेलमा मेदभेदेभ र सिनर बीच प्रतिस्पर्धा हुनेछ । हारपछि एटिपी फाइनल्समा डेबयु गरेका डि मिनोको भने सेमीफाइनल पुग्ने संभावना कमजोर बनेको छ ।