काठमाडौं । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा काठमाडौंमा हिजोदेखि सुरु भएको 'कान्तिपुर कन्क्लेभ-२०२४’ मा आज पनि विभिन्न ६ सत्रमा बहस हुँदैछ । आजको सत्रमा निर्वाचन सुधार नीति कि प्रवृत्ति, भूराजनीतिक खलबल, मैदानमा महिला नायक, सीमापार समृद्धि, मुख्य मन्त्रीका मुख्य कुरा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग परिसम्वाद हुनेछ ।
यसअघि हिजोको अन्तिम सत्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्तिपुर मिडिया गुप्रले गरेको बहसले लोकतन्त्रलाई थप बलियो बनाउने बताउनु भएको थियो । लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्रै भएको उल्लेख गर्दै उहाँले निरकुंशता र अराजकता लोकतन्त्रको विकल्प नभएको उल्लेख गर्नुभयो ।
संविधानमा व्यवस्था गरिएको निर्वाचन प्रणाली र केही वर्ग तथा समुदायसम्बन्धी विषयलाई समयमा सच्याउन नसके जटिलतातर्फ जान सक्ने दाहालले प्रष्ट पार्नु भयो । उहाँले एमाले र नेपाली कांग्रेसको सरकार ढाल्ने पक्षमा आफूहरु नरहेको दाबी गर्नु भयो । आफूले नचाहे पनि अहिलेको सरकार लामो नजाने दाहालको दाबी थियो ।
कन्क्लेभको उद्घाटन गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कान्तिपुर कनक्लेभ अहिलेका योजनाकार र भविष्यको दृष्टिकोण भएकाहरुलाई एकै ठाउँमा राखेर बहस गर्ने थलो भएको बताउनु भयो । कन्क्लेभले समस्या मात्रै नभएर उन्नत लोकतन्त्रका लागि समाधान पनि खोज्ने सिरोहियाले स्पष्ट पार्नु भयो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय सम्पादनमा कसैको दबाब र प्रभाव नपर्ने दावी गर्नुभयो । न्यायपालिकामा सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि नेतृत्व सक्षम र इमान्दार हुनुपर्ने बताउनुभयो । उहाँले न्याय क्षेत्रको सुधारले मात्र समाजमा व्याप्त निराशा घटाउन सकिने बताउनुभयो ।
नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले ‘बदलिँदो परिवेशमा मतदातालाई प्रभावित पार्ने ‘पपुलिजम’को लहर विश्वभर नै चलेको बताउनुभयो । यसले समग्र लोकतान्त्रिक अभ्यासलाई प्रभावित बनाएको उहाँको भनाइ छ । लोकतन्त्र भनेको राजनीतिक र सुविधा मात्रै नभएर विना डर समाजमा एक बएर बस्न बस्न पाउनु पर्ने बताउनु भयो ।
कन्क्लेभको यस वर्षको मुख्य विषयवस्तु ‘डेमोक्रेसी इन डिलेमा’ रहेको छ । हिजो विभिन्न ६ विषयमा बहस भएको थियो । दुई दिन गरेर बहसमा १२ सत्रमा छलफल हुनेछन् भने १० विदेशीसहित ५५ वक्ता सहभागी हुनुहुन्छ ।