पोखराको क्रिकेट मैदान : खेलाडी र समर्थकलाई आशा, पूर्वाधारमा भने सरकारको छैन चासो

कार्तिक २८, २०८१ |भुपाल गुरुङ
पोखराको क्रिकेट मैदान : खेलाडी र समर्थकलाई आशा, पूर्वाधारमा भने सरकारको छैन चासो

कास्की । नेपाली क्रिकेट टिमले पाइरहेको सफलताका कारण क्रिकेटप्रतिको क्रेज देशभर बढ्दो छ । क्रिकेट क्रेज पर्यटन नगरी पोखरामा पनि उस्तै छ । पोखराको रंगशालाभित्र रहेको क्रिकेट मैदानमा अहिले कुनै न कुनै प्रतियोगिता भइरहन्छ । पछिल्लो समय स्थानीय खेलाडीलाई समेत तबलको व्यवस्था गर्न थालेपछि क्रिकेटप्रतिको आकर्षण थप बढेको छ । तर, पूर्वाधारमा सरकारको लगानी भने शून्यः प्राय छ ।

पोखराको क्रिकेट मैदानमा यही वर्ष आधा दर्जन प्रतियोगिता भए । गण्डकी प्रदेशकै एक मात्र मैदानमा कहिले उमेर समूह त कहिले क्लवदेखि राष्ट्रियस्तरका टी-२० देखि एक दिवसीय प्रतियोगिता भए । प्रतियोगिता भइरहँदा स्थानीय खेलाडीहरुले खेल्ने अवसर पाए भने क्रिकेटप्रेमी दर्शकले घरेलु मैदानमा क्रिकेटको मज्जा लिए । जति धेरै प्रतियोगिता भयो त्यति धेरै खेलाडीले एक्स्पोज पाउँछन् ।

गण्डकी प्रदेशका सुबास भण्डारी, अर्जुन कुमाल, दीपक डुम्रे, कुसुम गोदार र सिर्जना पौडेल गरी पाँच खेलाडीले अहिले क्रिकेट संघबाट तलब पाउँछन् । यसले पनि खेलाडीलाई क्रिकेटप्रति आकर्षण बढाएको छ । 

यही मैदानमा खेलेका करण केसी, अर्जुन कुमाल, सुबास भण्डारी, कुसुम गोदार, अञ्जली केसी, रचना चौधरी, जोष्निका मरासिनी लगायतले नेपालको प्रतिनिधित्व गरिसकेका छन् । 

त्यसैगरी, सीला क्षेत्री, सृष्टि जैसी, अञ्जली विश्वकर्मा लगायतका खेलाडीले एसियाड खेलिसकेका छन् । पोखराको मैदानमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता भइसकेका छन् । तर, मैदानभित्र थप पूर्वाधार बनाउनेतर्फ सरकारको चासो देखिँदैन । 

एक वर्षअघि सुरु गरेको पोखराको क्रिकेट मैदानको प्याराफिट अलपत्र छ । सन् २०२७ मा नेपाल र बंगालादेशको संयूुक्त आयोजनामा हुने महिला यू-१९ विश्वकपका केही खेलहरु पोखरामा गर्ने तयारी भए पनि पूर्वाधारको स्तरोन्नतिमा कुनै काम भएको छैन ।

पछिल्लो समय नेपाली क्रिकेटले पाएको सफलताले विश्वमा नै चर्चा बटुलेको छ भने हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । यही लय जोगाउन नियमित अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा घरेलु प्रतियोगितालाई निरन्तरता दिनुपर्छ भने घरेलु प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणको खाँचो पनि उत्तिकै छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।