काठमाडौं । नेपाल आईसीसी अन्डर नाइन्टिन महिला टी-ट्वेन्टी विश्वकपमा पहिलो पटक छनोट भएको छ । नेपाल एसिया छनोटको विजेताका रुपमा विश्वकपमा प्रवेश गरेको हो । आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेटले इतिहास रचेको हो । नेपालले यसै वर्ष डिसेम्बरमा यूएईमा हुने उमेर समूहको एसिया कपमा पनि स्थान बनाएको छ ।
डबल राउण्ड रोविनको पहिलो खेलमा यूएईसँग १३ रनले पराजित नेपालले सो हारको बदला लिँदै विश्वकपमा स्थान बनाएको हो । नेपाललाई विश्वपकमा पुग्न १६ ओभर २ बलमा ८४ रनको लक्ष्य पुरा गर्नुपर्ने समीकरण थियो । नेपालले १४ ओभर ४ बलमा जित हासिल गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यससँगै आगामी वर्ष मलेसियामा हुने अन्डर-१९ महिला विश्व कप खल्ने सबै टोलीको टुंगो लागेको छ । एसिया छनोटबाट नेपाल विश्वकपमा छानिएपछि सबै १६ टोलीको टुंगो लागेको हो ।
सन् २०२३ को अन्डर नाइन्टिन महिला टी-२० विश्वकप छनोटमा नेपाल तेस्रो स्थानमा रहेपछि पहिलो संस्करणको अन्डर नाइन्टिन महिला टि-२० विश्वकप पुग्नबाट बञ्चित भएको थियो । सो संरकण यूएई, एसिया छनोटको शीर्ष स्थानमा रहँदै विश्वपमा पुगेको थियो । यससँगै अन्डर नाइन्टिन महिला क्रिकेट टोली कुनै पनि खेलमा नेपालबाट विश्वकप खेल्ने पहिलो महिला टोली बनेको छ ।
नेपाली महिला क्रिकेट टोलीले सन् २००७ मा मलेसियामा भएको एसीसी वुमन्स टुर्नामेन्टबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको थियो । तर, बीचमा विविध कारणले टोलीले निरन्तरता पााउन सकेको थिएन । २०२५ को यू-१९ महिला टी-ट्वेन्टी विश्वपकमा छनोट भएसँगै नेपाली युवा महिला टोली लगातार दुई संस्करणको महिला टी-२० विश्वकप खेल्नेछ । नेपाल र बंगलादेशले २०२७ को महिला उमेर समूहको विश्वकप आयोजना गर्ने हुँदा दुबै टोलीले आयोजकका रुपमा प्रतियोगितामा प्रवेश पाउनेछन् ।
बुधबार यूएईस्थित सेभेन्स स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार पारेको थियो । यूएईका लागि कप्तान समाइरा धारनी-धार्काले ४८ बलमा सर्वाधिक ३१, रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १०-१० रन जोडे । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितिमा पुगेको यूएईले बाँकी २४ रन जोड्दा ७ विकेट गुमाएको थियो । नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २-२ तथा रचना चौधरीले १ विकेट लिए ।
जवाफमा नेपालले १४ ओभर ४ बलमा लक्ष्य पूरा गर्यो । सावित्री धामी ९ बलमा १२ रन बनाएर बाहिरिन् । कप्तान पूजा महतोले २१ रनको योगदान दिइन् । साना प्रविन ३५ रन र सोनी पाख्रिन १३ रनमा अविजित रहे । यूएईका लागि मेहक ठाकुरले २ विकेट लिइन् ।
आईसीसी अन्डर १९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह डीमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालले आफ्नो पहिलो खेलमा जनवरी १८ मा बंगलादेश, २० मा स्कटल्यान्ड र २२ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ ।