काठमाडौं । भारतीय विकेटकिपर ब्याटर ऋद्धिमान साहले क्रिकेटका सबै फर्म्याटबाट संन्यासको घोषणा गरेका छन् । ४० वर्षीय साह विगत ३ वर्षदेखि टिमबाट बाहिर छन् ।
उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल २०२१ मा न्युजिल्याण्डविरुद्ध वानखेडेमा खेलेका थिए । सोसल मिडिया प्लेटर्फम एक्समार्फत साहले संन्यासको घोषणा गरेका हुन् । उनले रणजी ट्रफीको यो सिजन आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका छन् । उनले क्रिकेटमा उत्कृष्ट यात्राका लागि बंगाल क्रिकेटप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
ऋद्धिमान साहले भारतका लागि ४० टेस्ट खेलिसकेका छन् । जसमा २९ दशमलव ४१ को औसतमा १ हजार ३ सय ५३ रन बनाएका छन् । साहले टेस्ट क्रिकेटमा ३ शतक र ६ अर्धशतक पनि बनाएका छन् । उनी आफ्नो विकेटकिपिङ कौशलका लागि परिचित छन् । एमएस धोनीले संन्यास लिएपछि साह टेस्ट क्रिकेटमा भारतका विकेटकिपर ब्याट्सम्यान थिए ।
साहले रणजी ट्रफीमा बंगालका लागि खेल्ने पक्का भए पनि आईपीएल भने खेल्ने छैनन् । उनलाई गुजरात टाइटन्सले भर्खरै जारी गरेको रिटेन्सन लिस्टमा राखेको थिएन । साह मेगा अक्सनमा पनि दर्ता भएका छैनन् । साह सन् २००८ देखि आईपीएलको हरेक सिजनको हिस्सा बनेका छन् ।
लिगमा उनले १ सय ७० खेलमा २ हजार ९ सय ३४ रन बनाएका छन् । आईपीएलमा उनले कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबाट खेलेका छन् ।