किन समयमा हुँदैन घरेलु फुटबल लिग ?

कार्तिक १६, २०८१ |विनयज्योति सापकोटा
किन समयमा हुँदैन घरेलु फुटबल लिग ?

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग नेपालको राष्ट्रिय फुटबल टोली निर्माणका लागि आधारभूत प्रतियोगिता हो । यो, खेलाडी, प्रशिक्षक र रेफ्रिहरुको जिविकोपार्जनको आधारसमेत हो । तर एन्फाले यो लिग नै आयोजना नगरेको पाँच सय दिनभन्दा धेरै भइसकेको छ। आखिर किन हुँदैन समयमा लिग ? लिगै नहुँदा नेपाली फुटबलमा त्यसको असर कस्तो पर्ला ?

सहिद स्मारक ए डिभिजन लिग नभएको ५ सय दिनभन्दा बढी भइसकेको छ । २०८० जेठ अन्तिम सातामा चर्च ब्वाइजले उपाधि जितेपछि नेपाली फुटबलको मेरुदण्ड मानिने लिग नै भएको छैन । लिग नभएपछि खेलाडी पलायनको शृंखला कायमै छ । अहिले खेलाडीले फुटबलमा भविष्य नै देख्न नसक्ने अवस्था आइपुग्दा फुटबल प्रबर्द्धन गर्ने निकाय अखिल नेपाल फुटबल संघ-एन्फाको अस्तित्वमाथि नै प्रश्न खडा भएको छ।

लिग नियमित नहुने नेपाली फुटबलको पुरानै समस्या हो। लिग सुरु भएको ७० वर्ष वितिसक्दा ४५ संस्करणसम्म मात्रै भएको छ । पछिल्लो दशकमा चार संस्करणका लिग मात्रै आयोजना भए । बाँकी समय खेलाडी बेरोजगार हुँदा फुटबलमा नै जीवन समर्पण गर्ने सोच भएका खेलाडी पाउनै समस्या हुने स्थिति छ । यसले दीर्घकालमा नेपाली फुटबल नै धरासायी बन्ने त होइन भन्ने अर्को प्रश्न उत्पन्न हुादैछ ।

यो रनिङ ट्रफी अघिल्लो सिजन चर्च ब्वाइज क्लबले जितेको थियो। डेढ वर्ष वितिसक्दा अहिले ट्रफीले नयाँ विजेता पाइसक्नु पर्ने थियो । तर न एन्फा लिग गराउन चाहन्छ, न क्लबहरु नै लिग खेल्न नै । यही कारण अहिलेसम्म बी डिभिजन लिगसमेत भएको छैन र लिग चक्र पूरा नभएका कारण ए डिभिजन लिग हुन नसकेको एन्फाका पदाधिकारी बताउँछन् ।

अहिले नेपाली फुटबल नै निराशाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा समयमै लिग आयोजना गरेर खेलाडी, प्रशिक्षक, रेफ्री, क्लब, प्रायोजकलगायतलाई चलायमान बनाउनु पर्ने हो। यस्तो नहुँदा केही मात्रामा हुने अव्यवस्थित गोल्डकपले मात्रै नेपाली फुटबल धानिरहेको छ ।

नेपालमा समर्थकले समेत फुटबललाई अपार प्रेम गर्छन्। घरेलु प्रतियोगितामै रंगशाला क्षमताभन्दा बढी भरिएका उदाहरण पनि छन्। तर नियमित र व्यवस्थित रुपमा हुनुपर्ने लिग क्लब र एन्फाबीचको विवाद र एन्फाकै अक्षमताका कारण रोकिनु नेपाली फुटबलका लागि दुर्भाग्य हो । 


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement