काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपालकी प्रतिभाशाली फरवार्ड सावित्रा भण्डारी फ्रान्स फर्किएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गए राति सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । च्याम्पियनसिप सकिएसँगै सावित्रा हिजो राति नै फ्रान्सका लागि उडिन् ।
फ्रेन्च महिला शीर्ष डिभिजन लिग 'डिभिजन वान फिमिनिने'को क्लब एन एभेन्ट गेङगाम्पमा आबद्ध सावित्राले साफ च्याम्पियनसिपका सुरुवाती दुई खेल गुमाएकी थिइन् । भुटान र नेपालको खेल फिफा विन्डोमा नरहेकाले क्लबले सावित्रालाई रिलिज नगरेपछि उनले प्रतियोगितमा ३ खेल मात्र खेल्न पाइन् । माल्दिभ्सविरुद्धको खेलमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्राले लामो यात्रा गरेको भन्दै बेन्चमै राखेर उनलाई आराम दिएका थिए ।
सवित्राले समूह चरणको अन्तिम खेलमा श्रीलंका र सेमिफाइनलमा भारतविरुद्ध समान एक गोल गरेकी थिइन् ।
फ्रेन्च लिगमा गेङगाम्पले आगामी आइतबार लियोनको सामना गर्दैछ । उनी सोही खेलका लागि साफ महिला च्याम्पियनसिप सकिएको एक दिनसमेत नबित्दै फ्रान्स फर्किएकी हुन् ।