काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २-१ गोलले हराउँदै बंगलादेशले दोस्रो पटक उपाधि जितेको हो । २०२२ मा पनि फाइनलमा नेपाललाई नै हराएर बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।
खेलको दोस्रो मिनेटमा नै नेपाल गोलबाट जोगिएको थियो । गीता रानाले चलाएको बल २५ यार्डसम्म मात्र पुगेपछि बंगलादेशकी तोहुरा खातुनले शक्तिशाली प्रहार गरेकी थिइन् । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।
खेलको १० औं मिनेटमा नेपालको प्रहार पनि उसैगरी बाहिरियो । अमिषा कार्कीको प्रहार क्रसबारमा ठोक्किएर मैदानतर्फ फर्कियो। त्यसअघि सावित्रा गोलको नजिक पुगेर पनि गोल गर्नै सकनिन्। प्रिति राईको पासमा सावित्रा अफसाइड हुँदा अर्को गोलको अवसर गुम्यो।
२८ औं मिनेटमा सावित्राको उत्कृष्ट पासलाई नियन्त्रणमा लिन नसक्दा अमिषा कार्की पुन एकपटक गोल गर्न चुकिन्। खेलको ३३ औं मिनेटमा पोस्टको नजिकै फ्री किकमा मोनिका चक्माको प्रहार पोस्टको निकै माथिबाट बाहिरिँदा बंगलादेशले अग्रता बनाउन सकेको थिएन। पहिलो हाफ सकिँदा दुवै टिम गोलमा असफल भए ।
दोस्रो हाफको सुरुआतबाटै खेल निकै रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा बंगलादेशले अग्रता बनाएको थियो । कप्तान सविना खातुनको प्रहार सविता राना मगरले क्लियर गर्न नसक्दा मोनिका चक्माले गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई छक्काएर गोल गरिन्।
इन्टेन्स खेलको ५६ औं मिनेटमा नै नेपाल गोल फर्काउन सफल भयो। प्रितिको पासमा अमृता जैशीले दोस्रो बारतर्फ गरेको प्रहार गोलकिपरले रोक्न सकिनन्। यससँगै खेल एक-एक गोलको बराबरीमा पुगेको थियो । ६१ औं मिनेटमा सावित्राले सेकेन्ड बारतर्फ गरेको प्रहार बाहिरिन पुग्यो। ६६ औं मिनेटमा सविताको प्रहार गोलकिपर रुपना चक्माले बचाइन्।
अर्को मिनेटमा मारिया मान्डले पोस्टको कर्नरतर्फ गरेको प्रहार एन्जिलाले डाइभ गरेर निकै मुश्किलले बचाइन् । ७६ औं मिनेटमा बंगलादेशको पोस्टअघि नेपालले दबाब बनाएर गरेको प्रहारहरु गोलकिपरले बचाएकी थिइन् । तर ८१ औं मिनेटमा साम्सुनहर सिनियरको थ्रो बललाई विङ्गर रितु पोर्ना चक्माले गोल गरिन्। उनको गोल नै निर्णायक गोल बन्यो ।