साफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै, कुन टिम बलियो ?

कार्तिक १४, २०८१ |प्रदीप लेखी
साफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै, कुन टिम बलियो ?

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टिम नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ । इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ । त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा । के आज हुने फाइनलमा नेपालले त्यो हारको बदला लिन्छ त ? 

घरेलु मैदान, समर्थक र नेपाली टोली सबै तयार छन्, इतिहासको साक्षी बन्न । नेपाल पहिलो पटक साफ च्याम्पियन बन्न मात्रै एक जितले टाढा छ । फाइनलमा पराजयको शृङ्खला तोड्न आजको फाइनलकै पखाई छ । भर्खरै महिला लिग सकिएको र विदेशी लिगमा जमेका खेलाडी सम्मिलित नेपाली टिम उत्कृष्ट र्फममा छ । सावित्रा भण्डारी साम्बाको तीव्र रनिङ, प्रिती राईको शानदार क्रस, गीता रानाको उत्कृष्ट डिफेन्स अनि रेणुका नगरकोटीको चुस्त मिडफिल्ड चम्किए बंगलादेशलाई हराउन पर्याप्त हुन्छ ।

बंगाली स्टार विंगर रितु पोर्ना चक्मा, अनुभवले निखारिएकी सविना खातुन, फिनिसिङ टच दिन माहिर तोहुरा खातुनसँगै टिमलाई एकबद्ध गराउन सफल मारिया माण्डा र मसुरा परविन प्रशिक्षक पिटर जेम्स बटलरको रणनीतिमा अब्बल देखिएका छन् । नतिजाका हिसाबले अघिल्लो सिजनभन्दा बलियो बंगलादेशविरुद्ध अनिता केसी, सविता राना मगर र रश्मी घिसिङले दबाब बनाउनु नै जितको आधार हुन्छ ।

पछिल्लो साफबाट राष्ट्रिय टिममा पुनरागमन गरेकी रेखा पौडेलसँगै दीपा शाही र हिराकुमारी भुजेल फाइनलमा नहुनु नेपालका लागि सहज छैन् । यद्यपि उपलब्ध खेलाडीबाटै नेपाल उपाधि जित्न सक्षम देखिएको छ । अहिलेसम्म उपाधिको स्वाद चाख्न नपाएको नेपाली टिमले फाइनलको सुरुआतबाटै राम्रो खेल्नु पर्नेछ ।

नेपाल अहिलेसम्म पाँच पटक साफ च्याम्पियनसिपको फाइनल पुगेर पनि उपाधि जितेको छैन । पाँच पटक भारत र एक पटक बंगलादेश च्याम्यियन बनेका छन् । समग्रमा भन्ने हो भने विभिन्न प्रतियोगिताका ११ फाइनल खेल्दासम्म नै नेपाल उपाधिविहीन छ । यो पटकको साफ च्याम्पियनसिपले उपाधिको खडेरी तोडिने अपेक्षा छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement