इरासमसले काठमाडौंबाट एनपिएल खेल्ने, पोखराको सल्लाहकार प्रशिक्षकमा जोन्टी

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
इरासमसले काठमाडौंबाट एनपिएल खेल्ने, पोखराको सल्लाहकार प्रशिक्षकमा जोन्टी

काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलका फ्रेन्चाइज क्लबलहरुले अहिले धमाधमा खेलाडी अनुबन्ध गरिहेका छन् । लिगकै क्लब पोखरा एभेन्जर्सले जोन्टी रोड्सलाई मेन्टरको रुपमा नियुक्त गरेको छ भने काठमाडौं गुर्खाजले नामिबियाका मार्वी गेरार्ड इरासमसलाई अनुबन्ध गरेको छ ।

क्लबले आज सूचनामार्फत् रोड्सलाई तीन वर्षको लिगको लागि अनुबन्ध गरेको जानकारी दिएको हो । रोड्सले यसअघि भारतको मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्समा रहेर काम गरिसकेका छन् । उनले आफ्नो टिमलाई बलियो बनाउन अहिलेसम्म सिकेको सिप प्रयोग गर्ने बताएका छन् ।

यता क्लबले उनको प्रशिक्षणबाट नेपाली युवा खेलाडीको क्षमता अभिवृद्धि हुने बताएको छ । उनी नोभेम्बर पहिलो साता नेपाल आउनेछन् ।

अहिले बाँकी क्लबहरु पनि खेलाडीलाई टिममा आवद्ध गर्नको लागि पनि निकै कसरत गरिरहेका छन् । जनकुपर बोट्सले अमेरिकी ओपनर जोसुवा बोल्ट्सलाई एक सिजनको लागि अनुबन्ध गरेको छ । बोल्ट्सले सामाजिक सञ्जालमार्फत उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । १९ वर्षे जोसुवाले ८ टी-२० आई खेले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामो डेब्युको अवसर भने पाएका छैनन् ।

सन् २०२२ को आईसीसी प्लेयर अफ दी एयर इरासमसले नामिबियाबाट ५२ एक दिवसीय र ६५ टी-ट्वेन्टी आई खेलेका छन् । उनले ओडीआईमा झन्डै २ हजार रन बनाएका छन् भने टी-ट्वेन्टी आईमा पनि एक हजार पाँच सय ५७ रन बनाएका छन् । अलराउन्डर उनको नाममा ५३ विकेट छ । उनले काठमाडौं टीमको थ्री डाइमन्सनमा नै सहयोग गर्ने अपेक्षा क्लबले राखेको छ । गुर्खाजले यसअघि नेदरल्यान्ड्सका माइकल लेविटलाई अनुबन्ध गरिसकेको छ ।

यसैगरी आजै बिहान मात्र चितवन राइनोजले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्यान्ट डी-ल्याङलाई अनुबन्ध गरेको छ। एक सय ४५ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्ने उनी दायाँ हातले बलिङ र ब्याटिङ गर्छन् । उनले एक सय ५१ टी-२० खलेका छन् । उनले दुई टिमबाट आइपिएल खेलेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.