तिहारका लागि माटोका पाला र धुपौरो बनाउन व्यस्त छन् भक्तपुरका कुम्हाले

कार्तिक ९, २०८१ |सुन्दर शिल्पकार
तिहारका लागि माटोका पाला र धुपौरो बनाउन व्यस्त छन् भक्तपुरका कुम्हाले

भक्तपुर । तिहार नजिकिँदै जाँदा भक्तपुरका प्रजापति समुदाय अर्थात् कुम्हालेहरु माटाका सामग्री बनाउने र बजार पठाउने काममा व्यस्त छन् । 

तिहारको दीपावली तथा लक्ष्मीपूजा गर्न खोजी हुने भएकाले पनि माटोका पाला तथा धुपौरोलगायतका सामग्री बनाउन उनीहरु जुटेका हुन् । चाडपर्वमा खर्च मात्रै हुँदैन, मिहिनेती कर्मयोगीहरुको आम्दानीको अवसर पनि हो ।

यो दृष्य हो भक्तपुरको कुम्हाले टोल अर्थात् पोटरी स्क्वायरको हो । बिहानदेखि नै यसरी मेसिनले मुछेको माटोमा रहेका स-साना ढुंगा र गिट्टी केलाएर तिहारका लागि आवश्यक माटाका सामग्री बनाउने, घाममा सुकाउने, रंग्याउने र भट्टीमा पोल्ने काममा यहाँका प्रजापति समुदाय जुट्ने गर्छन् । निकै आकर्षक तरिकाबाट बनाइरहेको र पारिलो घामा सुकाएका माटाका सामग्रीका दृष्यले सबैलाई मोहित बनाउँछ ।

पोटरी स्क्वायरका ३२ वर्षीय विवेक प्रजापतिको दिनचर्या पनि यसैगरी बितिरहेको छ । कक्षा १० अध्ययनपछि पुर्खौली पेशा अंगालेका विवेकले माटोसँगै रमाएर धेरै तिहार झिलिमिली बनाए र धेरैको मुहारमा खुसियाली दिए । उनी आफ्नो पेसाप्रति गर्व गर्छन् । तिहारमात्रै पनि होइन यो त विवेकजस्ता धेरै कर्मयोगीको सिजन पनि हो ।

अहिले भने बिहानदेखि नै तिहारका लागि आवश्यक साना र ठूला माटा पाला तथा धुपौरोको माग बढी हुने गरेको उहाँ बताउनुहुन्छ । तर माटाका सामग्री बनाउने प्रयोग हुने कालो माटोको भने समस्या छ । ६ महिना अघिवाट माटो जोहो गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ छ ।

४० वर्षीया रन्जना प्रजापति आफ्नो पनि श्रीमानले तयार गरेका माटा सामग्री सुकाउने, रंग्याउने र बिक्री गर्ने काममा व्यस्त हुनुहुन्छ आजभोलि । पहिले यही पुर्खौली पेसा गरेर छाडेकी रन्जना पुन पाँच वर्षअघि यही पेसा अंगालेर तिहारका लागि आवश्यक सामग्री बनाउँदै हुनुहुन्छ ।

हुन त आजकाल तिहारमा झिलिमिली बनाउन विभिन्न विद्युतिय सामग्री पनि सहजै किन्न पाइन्छ । तर परम्परागत तरिकाबाट दियो बालेर तिहार मनाउने प्रचलन पनि हराएको भने छैन् । तिहारको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पुजा अर्चना गरि लक्ष्मी भित्र्याउने प्रचलन छ । यसैका लागि भक्तपुरका प्रजापति समुदाय तीन महिनाअघिवाट माटाका सामान्यदेखि बुट्टेदार पाला, धुपौरो र धुपदानी, सुकुन्दा लगायतका सामग्री बनाउन व्यस्त हुन्छन् ।

यहाँ बनाएका सामग्री काठमाडौं उपत्यका लगायत देश विदेशमा समेत निर्यात हुने गरेको छ । चाडबाडको समयमा स्वदेशी वस्तुको प्रयोगले देशभित्रै रोजगरीको अवसर सिर्जना गर्छ भने आफ्नो परम्परा पनि जोगाइराख्न ठूलो सहयोग गर्छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।