मितेरी सहकारीको रकम अपचलनमा कांग्रेस उपसभापति गुरुङको संलग्नता खोज्दै सीआईबी

कार्तिक ७, २०८१ |रमेश धमला
मितेरी सहकारीको रकम अपचलनमा कांग्रेस उपसभापति गुरुङको संलग्नता खोज्दै सीआईबी

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

अर्कोतर्फ मितेरी सहकारीको रकम हिनामिनामा जोडिएका सत्तारुढ दल नेपाली कांग्रेसकै उपसभापति धनराज गुरुङमाथि अनुसन्धान नभएको भन्दै प्रश्न उठिरहेको छ । तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले धनराजमाथि अनुसन्धान गरिरहेको छ । धनराजकी पूर्वश्रीमती ज्योति गुरुङले सुरु गरेको अपलचन अहिले उनको जिम्मेवारीमा कसरी आयो, प्रहरीले त्यसको ठोस प्रमाण खोजी रहेको छ ।

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेको ६ दिन भयो । लामिछानेविरुद्धको कानुनी कारबाहीको प्रक्रिया त सुरु भयो, तर ललितपुरस्थित मितेरी सहकारीको रकम हिनामिना गर्नेमाथि के भैरहेको छ ? धेरैको प्रश्न छ । जसमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम समेत मुछिएको छ ।

मितेरी सहकारीको १४ करोड रकम हिनामिनामा प्रहरीको अनुसन्धान जारी छ । बागमती प्रदेश सहकारी मन्त्रालयको छानबिनबाट आएको सिफारिस अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले अनुसन्धान गरिरहेको हो । सिआईबीले मितेरी सहकारीको रकम हिसाबकिताब खोजी गरेको छ । जसमा धनराज गुरुङ जोडिन्छन् कि जोडिदैनन् भन्ने प्रमाण खोज्नु आवश्यक छ ।

त्यसो त मितेरी सहकारीको रकम अपचलनमा अन्यको जस्तो पीडितहरुले नभई संचालक समितिले नै उजुरी दिएको हो । कारबाहीका लागि प्रहरीसम्म आएको सिफारिसमा धनराज गुरुङकी पूर्वपत्नि ज्योति गुरुङ, सोही सहकारीका पूर्वकर्मचारीसमेत रहेका ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, प्रकाश यादव र हितमान थापाको मात्रै नाम छ, धनराजको छैन । सीआईबीमा आएको जाहेरीमा नाम नभएपछि धनराज माथिको अनुसन्धानमा सीआईबी अलमलमा परेको हो ।

सहकारीको प्रमुख कार्यकारी अधिकृतसमेत रहेकी धनराजकी पूर्वश्रीमती ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको छ भने पछि ८४ लाख थप भएको हो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए । स्रोतका अनुसार धनराज र ज्योतिबीच सम्बन्धविच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमती भएको दाबी छ । तर ज्योतिले सहकारीमा तिरेको १ करोड १३ लाख कहाँबाट आयो भन्ने स्रोतको खोजीमा भने धनराज जोडिन सक्नतर्फ पनि अनुसन्धान केन्द्रित भएको छ ।

धनराजले सहकारीको रकम हिनामिना गर्न भुमिका खेले कि खेलेनन् भन्ने तथ्य पनि प्रहरीले खोजिरहेको छ । सोही कारण प्रहरी कारबाहीको सिफारिस भएर आएका ज्योति गुरुङ अथवा ज्योति भण्डारीमध्ये एक जना पक्राउ गर्न आवश्यक रहेको सीआईबीको बुझाइ छ । 

त्यसैले गुरुङ र भण्डारी पक्राउका लागि इन्टरपोलबाट रेड नोटिस जारीका लागि सिफारिस भैसकेको छ । तीमध्ये एक जना पक्राउ गर्न सकिए उनीहरुको बयानबाट धनराजको भूमिका खुलाउन सकिने प्रहरीको अनुमान छ । तर, स्रोतका अनुसार ज्योति गुरुङ अमेरिका र भण्डारी कम्बोडियामा छन् ।

ज्योति गुरुङ २०७७ साल फागुन १४ गते अमेरिका गएको भेटिएको तथ्यबाट देखिन्छ । त्यस्तै बागमती प्रदेशबाट कारबाहीका लागि सिफारिस भएर आएका अन्य तीन जना सुजन शाक्य , प्रकाश यादव र हितमान थापाको नामबाट थाइल्यान्ड पैसा गएको देखिए पनि उनीहरु को हुन भन्ने पहिचान हुन सकेको छैन । तिनै जना नक्कली नाम खडा गरेको हुन सक्ने पनि प्रहरीको आशंका छ । अहिले प्रहरीले धनराज गुरुङको बैंक खाता अनुसन्धान गरिरहेको छ ।

उनको कारोबार भएका बैंकहरुको हिसाब निकाल्ने र त्यसमा सहकारीको रकम जोडिएका तथ्य भेटिए अनुसन्धान गुरुङतिर सोझिने छ । धनराज गुरुङकी पूर्वश्रीमतीले भने सहकारीको प्रमुख कार्यकारी अधिकृत हुँदा बचतकर्ताको रकम सहकारीको खातामा जम्मा नगरी व्यक्तिगत रुपमा ६ करोड हिनामिना गरेको देखिएको छ । 

१ सय २१ जनाको उक्त रकम ज्योतिले लगेको संचालक समितिले जाहेरीमा उल्लेख गरेको छ । धनराज गुरुङलाई कानुनी कारबाहीमा ल्याएर मुद्दा चलाउन सकिने कुनै ठोस तथ्य भेटिए कारबाही गर्न सत्तारुढ दलहरुले ग्रिन सिग्नल दिने दाबी प्रहरी स्रोतको छ । 


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।