साफ महिला च्याम्पियनसिप : श्रीलंकाविरुद्ध भुटान ४-१ गोलले विजयी

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप : श्रीलंकाविरुद्ध भुटान ४-१ गोलले विजयी

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा भुटानले श्रीलंकालाई ४-१ ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा लगातार अग्रता बनाएर भुटान विजयी भएको हो । भुटानले साफको इतिहासमा दर्ता गरेको यो दोस्रो जित हो। यसअघि पनि उसले श्रीलंकालाई नै हराएको थियो ।

भुटानले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो । पोस्टको दायाँबाट नामग्यालको क्रसमा देशीले गोल गरेकी हुन् । प्रतियोगितामा पहिलो गोलसँगै भुटानले अग्रता बनाएको हो । खेलको १५ औं मिनेटमा सिवानेश्वर्ण थरमिकाले मिलाइदिएको बललाई वर्णाकुल–सुरिया इमेशाले पोस्टको दिशा दिए पनि गोलकिपरले बललाई नियन्त्रणमा लिएकी थिइन्।

श्रीलंकाले खेलको २२ औं मिनेटमा बराबरी गोल फर्कायो । कप्तान थुशान्ति मशुसिकाले विपक्षीबाट नियन्त्रणमा लिएको बललाई प्रविणा परेसँग पास खेलेर गोल गरेकी हुन् । उनको प्रहार भुटानका दुई डिफेन्डर र गोलकिपरले रक्षा गर्न सकेनन् । खेलको ३२ औं मिनेटमा भुटानले फेरि अग्रता आफ्नो पक्षमा ल्याएको थियो ।

रिबाउन्ड भएको नामग्यालको फ्री किक श्रीलंकाकी युवारानीले क्लियर गर्न नसकेपछि दोर्जीले नियन्त्रणमा लिएर गोल गरेकी हुन् । कप्तान पेमा छादेनले मुस्किलले दिएको पासमा देखीले चलाखीपूर्ण गोल गरिन् । श्रीलंकाका खेलाडीको तालमेल मिल्न नसक्दा उसले सो गोल रक्षा गर्न सकेन । यता भुटानले भने खेलमा ३–१ को अग्रता बनाएको हो ।

खेलको ७८ औं मिनेटमा ४-१ गोलको अग्रता बनाएको हो । पेमाकै पासमा नामग्यालले दुई डिफेन्डरलाई बिट गरेर गोल गरिन् । यता खेलमा केही अवसरको सिजर्ना गरे पनि श्रीलंकाले दोस्रो हाफमा गोल गर्न सकेन । आजको जितसँगै भुटानले समूहमा चार अंक बनाएको छ भने श्रीलंकाको तीन अंक छ । भुटानले पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई हराएको थियो ।

आजको जितसँगै भुटानले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । ऊ अघिल्लो संस्करणमा पहिलो पटक साफमा सेमिफाइनल पुगेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.