स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनले एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनले एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् ।

उनको आगमनले एनपीएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहने रोयल्यले जनाएको छ । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी-ट्वेन्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टी-ट्वेन्टी आईमा डेब्यू गरेका हुन् ।

उनी स्कटल्यान्डको ओडीआई टोलीको पनि सदस्य हुन् । २२ ओडीआईमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ। दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक जगत टमाटा हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएल ८ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि सुरु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.