आईसीसी महिला टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी महिला टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् ।

दुबई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुने छ । दुबै टोली फाइनलमा पुग्ने लक्ष्यमा हुने छन् । अस्ट्रेलिया अपराजित रहँदै समूह एको विजेताका रुपमा सेमिफाइनलसम्म पुगेको हो ।

समूह चरणमा उसले भारत, पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंकालाई पराजित गरेको थियो । दक्षिण अफ्रिका समूह बीमा ३ जित र १ हारसहित उपविजेताका रुपमा अघि बढेको हो । समूह चरणमा दक्षिण अफ्रिका इङ्ग्ल्यान्डसँग पराजित हुँदा बंगलादेश, स्कटल्यान्ड र वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

अघिल्लो संस्करणको विश्वकप फाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया आममने सामने भएका थिए । जहाँ अस्ट्रेलिया १९ रनको जित हात पार्दै च्याम्पियन बनेको थियो । अस्ट्रेलिया टी-२० विश्वकपको सर्वाधिक सफल टोली हो । यसले ८ मध्ये ६ पटक विश्वकप जितेको छ । वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल भोलि खेलिने छ । फाइनल खेल आइतबार हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.