बाढीपहिरोले सडक र पदमार्गमा क्षति पुर्‍याएपछि पर्यटकलाई सास्ती

हिमाली क्षेत्रको यात्रामा निस्केकालाई गन्तव्यसम्म पुग्नै सकस
सगरमाथा जाने पर्यटक पनि घटे
कार्तिक १, २०८१ |केदार शिवाकोटी
बाढीपहिरोले सडक र पदमार्गमा क्षति पुर्‍याएपछि पर्यटकलाई सास्ती

दोलखा । हिमाल आरोहण र पदयात्रामा निस्कने मुख्य सिजन हो शरद ऋतु । असोजदेखि मध्य मंसिरसम्म विदेशी पर्यटकले हिमाली क्षेत्र भरिभराउ हुन्छ । सडक र पदमार्ग बाढीपहिराले क्षतिग्रस्त बनाएका कारण यो सिजनमा विदेशी पर्यटकले सास्ती खेपिरहेका छन् । अर्कोतर्फ खराब मौसमका कारण पनि हिमाली क्षेत्रको यात्रामा निस्किएका पर्यटकलाई गन्तव्यसम्म पुग्न कठिन भएको छ ।

गएको असार र साउनमा आएको बाढीले दोलखा र सोलुखुम्बुका पदमार्गमा क्षति पुर्‍यायो । क्षति भएका पदमार्ग निमार्ण हुन नपाउँदै पर्यटकीय सिजन सुरु भए लगत्तै असोज १० देखि १२ गतेसम्मको पानीले सडक सम्पर्कसहित पुल बगाएपछि थप संकट बढ्यो । 

वैकल्पिक सडक प्रयोगमा आयो तर मौसम बाधक बन्दा मन्थली-लुक्ला उडान प्रभावित भयो । जसले गर्दा सगरमाथा जाने विदेशी पर्यटक र पथ प्रदर्शले सास्ती खेपीरहेका छन् । 

गएका बर्ष जस्तो यो बर्ष सगरमाथा जाने पर्यटक घटेका छन् । आएका पर्यटक पनि खराब मौसमका कारण यस्को मुख्य कारण भ्रमण छोट्याउने तरखरमा छन् । जसको प्रत्यक्ष असर पर्यटन व्यवसायी र पथ प्रदर्शमा परेको छ । मुख्य सिजनमा पर्यटकलाई पथ प्रदर्शक गरेर घर व्यवहार चलाउनहरु हात खाली हुने चिन्तामा छन् भने पर्यटन व्यवसायी समस्यामा परेका छन् ।

सरकारले सगरमाथा जाने पर्यटकलाई लक्षित गरेर मन्थली विमानस्थल सञ्चालन गरे पनि खराब मौसमका कारण अधिकांश पर्यटक रामेछाप मै छन् । उनीहरु मौसम खुल्ने आशमा छन् । दोलखाको रोल्वालिङ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढेको छ ।

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताए पनि बाढीले क्षति गरेको रोल्वालिङ, सोलुखुम्बुका पदमार्ग निमार्णमा ढिलाइ हुँदा पर्यटनमा नकरात्मक सन्देश त जाँदैन भन्ने प्रश्न उठेको छ । 


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।