भारत माथि ९ रनको जित हात पार्दै अस्ट्रेलिया आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

भारतले भने अन्य टिमको नतिजा कुर्नुपर्ने
आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारत माथि ९ रनको जित हात पार्दै अस्ट्रेलिया आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

काठमाडौं । साबिक विजेता अस्ट्रेलिया, आईसीसी महिला टी-ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । अस्ट्रेलियाले समूहको आफ्नो अन्तिम खेलमा भारतलाई ९ रनले पराजित गरेको हो । यो हारपछि भारतको यात्रा भने अरुको नतिजामा निर्भर भएको छ ।

यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । अस्ट्रेलियाको सुरुवात भने राम्रो रहेन । टोलीको स्कोर १७ रन हुँदा दुई ब्याटर आउट भएका थिए । बथ मुनि दुई रनमा मैदान बाहिरिँदा जर्जिया वेरहामले खाता खोल्न सकिनन् ।

चोटग्रस्त कप्तान एल्सी पेरी बिनै मैदान उत्रिएको अस्ट्रेलियाले पुनरागमन गर्दै जारी प्रतियोगितामा आफ्नो उच्च स्कोर बनायो । कप्तानको जिम्मेवारी सम्हालेकी ताहिला मेक्ग्रेथले ३२ रन जोडिन् । आस्ली गाडर्नरले पनि ३२ रनकै योगदान गरिन् । ग्रेस ह्यारिसले सर्वाधिक ४० रन बनाइन् । फिबी लिचफिल्ड १५ रनमा अविजित रहिन्।

दिप्ती शर्मा र रेनुका शर्माले दुई दुई विकेट लिए । श्रेयाङका पाटिल, पूजा भस्त्राकर र राधा यादवले एक एक विकेड बाँडे । जवाफमा भारतले ९ विकेटको नोक्सानीमा १ सय ४२ रन मात्र बनाउन सक्यो । ओपनर सेफाली बर्माले २० रन बनाएइन् । भारतले स्मिृती मन्धनालाइ ६ र जेमिन्नाह रोद्रिगेजलाइ १६ रनमा गुमायो । दिप्तीले २९ रन थपिन् ।

भारतलाई जितका लागि अन्तिम ओभरमा १४ रन आवश्यक थियो । तर आनाबेल सदरलेन्डले उत्कृष्ट बलिङ गरिन् । उनको ओभरमा भारतले मात्र चार रन जोडदा चार विकेट गुमाएपछि अस्ट्रेलियाले रोमान्चक जित हात पारेको हो । जारी विश्वकपमा अन्तिम चारमा स्थान बनाउने अस्ट्रेलिया पहिलो टोली हो ।

समूहका चार खेलमा नै शत प्रतिशत नतिजा निकालेको ६ पटकको च्याम्पियन अस्ट्रेलिया ८ अंकसहित तालिकाको शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको भारतको चार खेलबाट ४ अंक छ । एक खेल कम खेलेको न्युजिल्यान्डको पनि चार अंक नै छ ।

न्युजिल्यान्डले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । दुई अंकका साथ पाकिस्तान चौथो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.