एभरेस्ट महिला भलिबल लिगमा गन्डकी थन्डर्सको पहिलो जीत

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एभरेस्ट महिला भलिबल लिगमा गन्डकी थन्डर्सको पहिलो जीत

काठमाडौं । गन्डकी थन्डर्सले एभरेस्ट महिला भलिबल लिगमा पहिलो जीत हात पारेको छ । गएराती भएको खेलमा सरस्वती चौधरीको टोली गन्डगीले ललितपुर क्विन्सलाई पाँच सेटमा पराजित गरेको हो ।

काठमाडौं त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा खेल सुरुवात बाटनै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको थियो । सलिना श्रेष्ठ मार्की रहेको ललितपुरले पहिलो सेट २९-२७ ले जितेको थियो ।

दोस्रो सेटमा गन्डकी २५-२३ को जीतका साथ खेलमा फर्कियो । तेस्रो सेट पनि गन्डकीकै नाममा रह्यो । यो सेट २५-१२ ले जितेपछि गन्डकी दुई एकले अघि रहेको थियो । तर चौथो सेटमा फेरी ललितपुरले एकपक्षिय रुपमा २५-१३ को जीत हात पारेपछि खेल लम्बियो ।

पाँचौ तथा निर्णायक सेट १५-६ ले आफ्नो पक्षमा पार्दै गन्डकीले लगातार चौथो हार टारेको हो । जीतका बावजुद गन्डकी प्रतियोगिताबाट भने बाहिरी सकेको छ । पाँचौ स्थानमा रहेको गन्डकीको चार खेलबाट तीन अंक छ ।

लगातार दोस्रो हार बेहोरेको ललितपुरको भने फाइनल पुग्ने संभावना बाँकीनै छ । चौथो स्थानमा रहेको ललितपुरको चार खेलबाट ७ अंक छ । अपराजित कर्णाली चार खेलबाट १० अंक जोड्दै फाइनल प्रवेश गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.