दुर्घटनामा साइकलयात्रीको मृत्यु भएपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा ढुंगामुडा

७ सेल अश्रुग्यास प्रहार
आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुर्घटनामा साइकलयात्रीको मृत्यु भएपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा ढुंगामुडा

विराटनगर । विराटनगर भन्सार कार्यालय परिसरमा भएको ढुङ्गामुढा नियन्त्रण गर्न प्रहरीले सात सेल अश्रु ग्यास प्रहार गरेको छ । हिजो साँझ साइकल यात्रीलाई ट्रकले किचेर मारेको विषयलाई लिएर स्थानीयले आज भन्सारमा गरेको ढुङ्गामुढा नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो ।

विराटनगरबाट भन्सार कार्यालयतर्फ गइरहेको ना ४ ख २४८३ नम्बरको ट्रकले हिजो साँझ ठक्कर दिँदा साइकल यात्री श्याम साहको मृत्यु भएको थियो । साहलाई विराट नर्सिङ होममा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । सोही विषयलाई लिएर स्थानीयले आज भन्सार कार्यालयमा ढुङ्गामुढा गरेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास प्रहार गरेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मृतकका आफन्त र स्थानीयले गएराति विराट नर्सिङ होममा समेत आक्रमणको प्रयास गरेका थिए । अस्पतालमा हुलहुज्जत गर्ने र आक्रमणको प्रयास गर्ने चार जनालाई प्रहरीले प्रक्राउ गरेको छ । आजको घटनामा भने कसैलाई पक्राउ नगरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

मृतकका आफन्त, जनप्रतिनिधि, ट्रक मालिक र प्रहरी प्रशासनबीच वार्ताको प्रयास भइरहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.