यातायात व्यवसायी र यातायात मजदुर सङ्गठनका प्रतिनिधिसँग माओवादी अध्यक्ष दाहालको छलफल

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
यातायात व्यवसायी र यातायात मजदुर सङ्गठनका प्रतिनिधिसँग माओवादी अध्यक्ष दाहालको छलफल

फाइल तस्बिर ।

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्राकृतिक विपद्ले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारेमा सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ ।

अध्यक्ष दाहालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिसँग आज छलफल गर्नुभएको हो । बाढीपहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष दाहालले छलफलमा दशैँको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुरलगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिँदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभयो ।

आफूले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै अध्यक्ष दाहालले यससम्बन्धी विस्तृत जानकारी लिएर प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा समाधानका लागि पहल गर्न छलफल थालेको बताउनुभयो ।

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको आज भएको उक्त छलफलमा यातायात महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारीले यातायात क्षेत्रले ठूलो सङ्कट बेहोर्नुपरेको, व्यावसायी मारमा परेको, यातायात मजदुरको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्याङ्क सङ्कलनसमेत नगरिएकोलगायत धारणा राख्नुभएको थियो ।

सरकारले पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका तथा बगेका गाडीको बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उहाँहरुको आग्रह थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.