भोलिबाट काठमाडौंमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी हुँदै

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
भोलिबाट काठमाडौंमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी हुँदै

काठमाडौं । भोलिबाट काठमाडौंमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी सुरु हुँदैछ । दुई दिनसम्म हुने प्रतियोगितामा एसियाका १६ देशको सहभागिता रहनेछ ।

नेपाल रग्बी संघले आज पत्रकार सम्मेलन गर्दै पुरुषतर्फ १४ र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । इरानले भने अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको छ । पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् । समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह सी’ मा काजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डि’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई रहेका छन् ।

महिलातर्फ ७ देशलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलंका छन् । नेपालबाट महिलामा सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् ।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी जम्मा ५० खेल हुने छन् । सिनियरस्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.