त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा नेपाल क्यानडासँग ४ विकेटले पराजित

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा नेपाल क्यानडासँग ४ विकेटले पराजित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा नेपाल क्यानडासँग पराजित भएको छ । घरेलु टोली क्यानडाले नेपाललाई ४ विकेटले हराएको हो ।

लिग-टू को त्रिकोणात्म सिरिज र त्यसपछिको टी-ट्वेन्टी सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध जित हासिल गर्न सकेको छैन । किंग सिटी ग्राउन्डमा क्यानडाले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार पारेको थियो ।

आक्रमक सुरुवात गरेको नेपालले पावर प्लेमा विनाकुनै विकेट गुमाएर ५६ रन जोडेको थियो । तर मिडिल ओभरमा क्यानडाका स्पिनिरहरुविरुद्ध नेपाली ब्याटरहरुले खुलेर खेल्न सकेनन् । पहिलो विकेटका लागि ओमनर अनिल साह र आसिफ शेखले ५५ बलमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

अनिलले सर्वाधिक ४१ रन जोडे । आसिफ ३० रनमा आउट भए । कप्तान रोहित पौडेलले ४ रन मात्र जोड्न सके । कुशल मल्ल ४, कुशल भुर्तेल १३ र दिपेन्द्रसिंह ऐरी १२ रनमा बाहिरिए । गुल्सन झा २३ र करण केसी ८ रनमा अविजित रहे । क्यानडाका हर्ष ठाकरले २ विकेट लिए । डीलोन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान १-१ विकेट हात पारे ।

जवाफमा १ सय ४० रनको लक्ष्य क्यानडाले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । ओपनर नवनित धालिवालाले १२ रन जोडे । कप्तान निकोलस किर्तनले २६ रन बनाए । साद विन जाफर ३३ र रविन्द्रपाल सिंह २० रनमा नटआउट रहे । नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले समान २-२ तथा सोमपाल कामीले १ विकेट लिए ।

टी-ट्वेन्टी आई सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानमाथि ३७ रनको जित हासिल गरेको थियो । आफ्नो चौथो खेलमा जेपालले आज ओमानसंग खेल्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.