लिभरपुल इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा फर्कियो

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
लिभरपुल इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा फर्कियो

काठमाडौं । लिभरपुल पुन: इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ । लिभरपुलले गएराति भएको खेलमा उल्भ्स माथि दुई एक गोलको जित हात पारेको हो ।

भ्रमणकारी टोली लिभरपुलले ब्रेक थ्रु का लागि भने पहिलो हाफको इन्जुरी समय सम्म कुर्नु पर्यो । एन्ड्रिउ रोबर्टसनको पासमा डोमिनिक जोबोस्जाइको प्रहार उल्भ्स गोलकिपर साम जनस्टोन्सले बचाएका थिए । तर पहिलो हाफ सकिनै लाग्दा डिएगो जोटाको क्रसमा इब्राहिमा कनाटेको हेडर गोल मार्फत लिभरपुल अग्रता लिन सफल भयो ।

कनाटेको प्रिमियर लिगमा यो पहिलो गोल हो । ५६ औं मिनेटमा उल्भ्सले खेलमा फर्कदै लिभरपुल माथि दवाव सिर्जना गर्यो । लिभरपुलका डिफेन्डर र गोलकिपर एलिसन बीच आपसी तालमेल नहुँदाको फाइदा उठाउँदै रायन नुरीले गोल गरेका थिए । तर ६१ औं मिनेटमा मोहम्मद सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाइ जित दिलाए ।

शीर्ष स्थानमा रहेको लिभरपुलको ६ खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १४ अंक छ । सिटी , न्युक्यासलसंग एक एक गोलको बराबरीमा रोकिनुको फाइदा लिभरपुललाई पुगेको हो । तेस्रो स्थानमा रहेको आर्सनलको पनि समान १४ अंक नै छ । गएराति नै भएको खेलमा आर्सनलले लेस्टर सिटी माथि चार दुई गोलको जित हात पार्यो ।

चेल्सीले पनि ब्राइटनलाई चार दुई गोलले पराजित गर्यो । चेल्सीका लागि चारै गोल कोल पाल्मरले पहिलो हाफमा गरेका थिए । प्रिमियर लिगमा पहिलो हाफमा नै चार गोल गर्ने पाल्मर पहिलो खेलाडी हुन् । १३ अंक सहित चेल्सी चौथो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement