त्रिकोणत्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालको हार

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिकोणत्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालको हार

काठमाडौं । क्यानडामा खराब ब्याटिङले निरन्तरता पाउँदा नेपालले, त्रिकोणत्मक टी-२० आई सिरिजको पहिलो खेलमा पनि हार बेहोरेको छ । गएराति भएको खेलमा घरेलु टोलीले नेपाल माथि १४ रनको जित हात पारेको हो ।

किङ सिटीमा रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरे । क्यानडाले २० ओभरमा आठ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल बनाएको थियो । नेपाली बलरले कसिलो बलिङ गरेपछि क्यानडाले खुलेर ब्याटिङ गर्न सकेको थिएन् । ओपनर आरोन जनसन नौ रनमानै आउट भएका थिए । नभनित धालिवाल १३, दिलप्रित बाजवा १४ र कप्तान निकलस क्रितन मात्र ५ रनमा मैदान बाहिरिए ।

हर्ष ठाकरले एक रन जोड्दा श्रेयस मोभाले २२ र साद विन जफरले २३ रन बनाएका थिए । तल्लो क्रमका ब्याटर प्रभिन कुमारले १९ र अखिल कुमारले अविजीत १४ रन थपे पछि क्यानडाले एक सयको आंकडा पार गरेको थियो । सोमपाल कामी र संदिप लामिछानेले तीन तीन विकेट लिए । रिजन ढकाल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेड बाँडे । एक सय २४ रनको लक्ष्य पछ्याएको नेपाल फेरी ब्याटिङमा चुक्यो ।

ओपनर अनिल साह ९ र आसिफ शेख ८ रनमा पवेलियन फर्किए । देव खनाल ११, कुशल मल्ल १२, कुशल भुर्तेल ७ र दिपेन्द्र ६ रनमा पवेलियन फर्किए । रोहितले सर्वाधिक ३७ रन बनाए । संदीपले दश रन जोडे। कलिम सनाले चार र सादले तीन विकेट लिएपछि नेपाल १९ ओभरमा एक सय नौ रनमा अल आउट भएको थियो ।

क्यानडामा नेपालको यो लगातार चौथो हार हो । यसअघि विश्व क्रिकेट लिग टु मा नेपाल क्यानडासंग दुई र ओमानसंग एक खेलमा पराजित भएको थियो । नेपालले सिरिजको दोस्रो खेलमा आज राति ओमानको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement