विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने छ ।

नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेपनि सुरुवाती २ खेल गुमाएको नेपालले अपेक्षित नतिजा हात पार्न सकेको छैन । पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानडाविरुद्ध हालसम्म ४ ओडीआई खेलेको नेपालका लागि उत्तर अमेरिकी टोलिविरुद्ध बेहोरेको यो नै पहिलो हार हो ।

दोस्रो खेलमा ओमानविरुद्ध ३ परिवर्तनसहित मैदान उत्रिएपनि नेपाल १ विकेटले पराजित भएको थियो । यस खेलमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि जित हासिल गर्न सकेको थिएन । गुल्सन झाले अर्धशतक प्रहार गर्दै पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका लागि एकै खेलमा अर्धशतक प्रहार गर्दै पाँच विकेट पूरा गर्ने उनी पहिलो खेलाडी बनेका थिए ।

कप्तान रोहित पौडेलले पनि अर्धशतकीय योगदान दिएका थिए । घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ । नेपाललाई लिग-२ को शीर्ष ४ मा अटाउन यसै खेलमार्फत पुनरागमन गर्नु पर्ने आवस्यकता छ । किङ सिटीको पीच फास्ट बलरका लागि अनुकुल छ । तर नेपालको फास्ट बलिङर ब्याटिङ चल्न सकेको छैन । प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित आज आफ्नो टिमबाट सुधारिएको फास्ट बलिङर ब्याटिङको अपेक्षा गर्ने छन् ।

लिग २ को आफ्नो दोस्रो सिरिज खेलिरहँदा ६ मध्ये केबल १ जित हात पारेको नेपाल २ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ । १० खेलमा १२ अंक जोडेको घरेलु टोली क्यानडा १२ अंकसहित दोस्रो स्थानमा छ । घरेलु सिरिजमा अपराजित क्यानडा यो खेल जित्दै लिग २ को शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement