एन्फा महिला लिग : कोशीमाथि एपीएफको ८-० गोलको फराकिलो जित

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिग : कोशीमाथि एपीएफको ८-० गोलको फराकिलो जित

काठमाडौं । एन्फा महिला लिगमा कोशी प्रदेशले अहिलेसम्मकै फराकिलो हार ब्यहोरेको छ । एन्फा कम्लेक्समा आज भएको खेलमा विभागीय टिम एपीएफले कोशीलाई ८-० ले हराएको हो । रश्मी कुमारी घिसिङले एपीएफका लागि पाँच गोल गरिन् ।

अनिता बस्नेतको कप्तानीमा रहेको टिमको लागि पाचौं मिनेटमा नै रश्मी कुमारी घिसिङले दिएको पासमा अनिता केसीले गोल गरिन् । १९ औं मिनेटमा कोशीकी सुस्मिता चौधरीले सविता राना मगरमाथि फल गरेपछि एपीएफले फ्रि-किक पायो । कप्तान अनिता बस्नेतको फ्रि-किक सिधै पोस्टको जालीसम्म पुगेको थियो। कोशीकी गोलकिपर बुली सरकारको कुनै कसर बललाई रोक्न सफल भएन।

यससँगै एपीएफ अग्रता दोब्बर बनाउन सफल भयो । पहिलो हाफमा दुई गोल गरेको एपीएफले दोस्रो हाफमा लगातार पोस्ट अटेम्प्ट गर्यो । सविताको कटब्याकमा प्रिती राईको प्रहार ४८ औं मिनेटमा बाहिरियो भने ५० औं मिनेटमा अनिताको हेडर पोस्टको नजिकैबाट बाहिर गएको थियो । ५० औं मिनेटमै समीक्षा तामाङले अट्याकिङ थर्डमा विपक्षी डिफेन्डरको मार्कलाई पार गर्न नसक्दा गोलमा असफल भइन् ।

५५ औं मिनेटमा अस्मिताको मार्कमा रहेकी रश्मीले सुन्दर हेडर गोल गोल गरिन् । सेट पिस गोलमा महत्वपूर्ण सावित हुँदै आएकी अनिताले ८१ औं मिनेटमा फेरि फ्रि किकबाट सिधै पोस्टमा प्रहार गरिन्। यससँगै एपीएफ सहज अवस्थामा पुगेको हो। अन्तिम समयमा सम्हाल्लिन नसकेको कोशीविरुद्ध रश्मीले ८१ औं मिनेटमै गोल गरिन्। आजको खेलमा यो उनको दोस्रो गोल रह्यो। रश्मीले ८५ औं मिनेटमा नै व्यक्तिगत पहिलो ह्याटि्रक गरिन् ।

उनलाई यसपटक सरु लिम्बूले पास दिएकी थिइन् । ८७ औं मिनेटमा समेत गोल गरेपछि एपीएफले खेलमा सात-शून्यको अग्रता बनाएको थियो । निर्धारित समयको एक मिनेट मात्र बाँकी रहँदा पनि गोल गरेपछि भने रश्मीले एकै खेलमा पाँच गोल पूरा गरेकी हुन् । रश्मीले आजको खेलपछि लिगमा नौ गोल गरेकी छन् । जारी लिग यसअघि सात गोल गरेर सर्वाधिक गोलकर्ता रहेकी ज्याकलिन नसालीलाई उनले अहिले दुई गोलले पछि पारिसकेकी छन् ।

कोशीले भने अन्तिममा १० मिनेटमा चार गोलको सामना गरेको थियो। आजको फराकिलो परायजसँगै कोशीको अन्तिम पाँचमा रहने सम्भावना कमजोर बन्दैछ । यता लिगमा अपराजित एपीएफ सात खेलबाट १९ अंकका साथ लिगको शीर्षस्थानमा छ । १० अंक जोडेको कोशी पाँचौ स्थानमा छ । लिगमा उसले तीन हारको सामना गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement