एसियाली स्तरको तेस्रो अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता नेपालमा हुने

असोज १८ र १९ गते हुने प्रतियोगितामा १७ देश सहभागी हुने
आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसियाली स्तरको तेस्रो अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता नेपालमा हुने

काठमाडौं । नेपालमा एसियाली स्तरको तेस्रो अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ । नेपाल रग्बी संघले आज पत्रकार सम्मेलन गरेर यही असोजको १८ र १९ गते दशरथ रंगशालामा एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी आयोजना गर्ने जानकारी दिएको हो ।

नेपालमा पहिलो पटक सिनियरतर्फ रग्बीको राष्ट्रिय टोलीको प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् २०२२ मा अन्डर एटिन र सन् २०२३ मा अन्डर ट्वेन्टी रग्बी दशरथ र‌ंगशालामा आयोजना गरिएको थियो । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने प्रतियोगितामा १७ देश सहभागी बन्नेछन् ।

पुरुष रग्बी सेभेन्सतर्फ १४ र महिला रग्बी सेभेन्समा आठ टोलीले सहभागिता जनाउने छन् । यस प्रतियोगितामा एसियाका ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागीता जनाउने छन् । यो प्रतियोगिता आयोजनाका क्रममा करिब २ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछन् ।

नेपाली टिम सन् २०१६ देखि एसिया रग्बीमा सहभागी हुँदै आएको छ । गत वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो । नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएपछि सन् २०२२ मा नेपालले बंगलादेशमा बंगबन्धु कप खेल्दै रग्बी फिफ्टिन्समा डेब्यु गरेको थियो।

पहिलोपल्ट रग्बी १५ ए साइडमा डेब्यु गरेको थियो । यता, दशरथ र‌ंगशालाको मैदान गुणस्तरको नभएको भन्दै एसियाली फुटबल महासंघले यसको मान्यता खारेज गरेर भर्खरै मात्र पुनः अन्तर्राष्ट्रिय मान्यता दिएको छ । अब यहाँ दसैं लगत्तै महिला साफ च्याम्पियनसिप हुँदैछ ।

साफ अघि रग्बी आयोजना गर्दा मैदान बिग्रने डर फुटबल पदाधिकारीलाई छ । प्रतियोगिता दशरथ र‌ंगशालामा नै आयोजना गर्न सरकारले स्वीकृति दिइसकेको रग्बी संघले जानकारी दिएको छ । नेपालले यो प्रतियोगिताबाट आफ्नो वरियता सुधार गर्ने लक्ष्य राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement