काठमाडौं । २० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता २०२४ को उपाधि निसर्ग बाटिका स्कुलले जितेको छ।
७८ विद्यालय सहभागी रहेको जुनियर राष्ट्रिय प्रतिस्पर्धामा जेम्स स्कुल दोस्रो र आयोजक लिटल एन्जल्स स्कुल तेस्रो भएका छन्।
प्रतियोगितामा कुल तीन सय ८९ खेलाडीले विधाको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा निसर्गले एक सय ४४ अंक प्राप्त गर्यो।
दोस्रो भएको जेम्स स्कुलले कुल एक सय ११ अंक प्राप्त गरेको छ। हिजो प्रतियोगिताको हिट चरण सम्पन्न भएको थियो। आज भएको फाइनलमा निसर्गले कुल १० स्वर्ण आफ्नो नाममा गरेको थियो। त्यसैगरी दोस्रो स्थान प्राप्त गरेको जेम्स स्कुलले नौ स्वर्ण पदकमा कब्जा जमाएको थियो। तेस्रो भएको आयोजक टिमले ८२ अंक जोडेको छ।
पौडीमा पहिलो स्थान प्राप्त गर्ने खेलाडीले पाँच अंकका साथै दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः तीन, दुई र एक अंक प्राप्त गर्दछन्। यही अंकका आधारमा विजेता चयन गरिएको हो। प्रतियागिताका विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले पुरस्कार प्रदान गरेकी थिइन्।