एन्फा महिला फुटबल लिगः सुदूरपश्चिम प्रदेश चौथों खेलमा पनि पराजित

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला फुटबल लिगः सुदूरपश्चिम प्रदेश चौथों खेलमा पनि पराजित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश एन्फा महिला फुटबल लिगमा लगातार चौथो खेलमा पनि पराजित भएको छ । एन्फा कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिमलाई ४-० ले हराएको हो।

खेलको तेस्रो मिनेटमा नै अनिता राना मगरले चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन्। पोस्टअघिको सहज बललाई पनि सुदूरपश्चिमकी अमिता भुलले क्लियर गर्न नसकेपछि अनिताले सहजै गोल गरिन्। सजनीले सेन्ट नजिकैबाट दिएको लामो पासलाई रजनी थोकरले भली प्रहार गर्दै गोलमा परिणत गरेकी थिइन्।

यससँगै पहिलो हाफमा चन्द्रपुरले २-० गोलको अग्रता बनाएको हो। यस्तै, दोस्रो हाफको ६२ औं मिनेटमा रजनीको प्रहारलाई अमिताले गोललाईनबाट बचाएकी थिइन्। यद्यपी सुदूरका डिफेन्डरलाई दबाबमा राखेको चन्द्रपुरले ६४ औं मिनेटमा ३-० को अग्रता बनायो। चन्द्रपुरले कर्नरबाट प्रहार गरेको बललाई सुदूरपश्चिमकी डिफेन्डर एलिना कुमारी चौधरीले क्लियर गोन खोज्दा आत्मघाति गोल भएको हो।

निर्धारित समयको एक मिनेट बाँकी रहँदा सजनी थोकरले गोल फ्रि-किकबाट गोल गरिन्। आजको जितसँगै चन्द्रपुरले पहिलो तीन अंक जोडेको छ। उसले चार खेलबाट पाँच अंक बनाएको छ। यसअघिका दुई खेलमा बराबरीमा रोकिएको चन्द्रपुर अहिले छैठौं स्थानमा उक्लिएको छ। जारी लिगमा सुदूरपश्चिमले भने अहिले सम्म ३२ गोलको सामना गरिसकेको छ। लिगमा भोलि पााचौ चरणका खेल सुरु हुँदैछन्। भोलि साढे १२ बजे हुने खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीको सामना गर्नेछ भने संकटा क्लबले कोशी प्रदेशसँग साढे ३ बजे खेल्ने तालिका रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.