काठमाडौं । नेपाल प्रिमियर लिगको आयोजक नेपाल क्रिकेट संघ क्यानले विभिन्न आठ फ्रेन्चाइज टिममा मार्की राख्नको लागि उपलब्ध खेलाडी सार्वजनिक गरेको छ। मार्कीमा उपलब्ध सबै खेलाडी राष्ट्रिय क्रिकेट टिमका हुन् ।
प्रिमियर लिगमा क्यानले आठ जना नै मार्की खेलाडी सार्वजनिक गरेको हो । क्यानले उपलब्ध गराएका नेपाली खेलाडीमा रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल छन्।
मार्की रहेका खेलाडीमा घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आइरहेको टिम पुलिसका दिपेन्द्र, कुशल र करण छन् भने आर्मीका सोमपाल र कुशल मल्ल छन्। त्यसैगरी एपीएफका आशिफ र रोहित मार्की हुनेछन् भने बागमती प्रदेशका सन्दिप लामिछानेलाई पनि क्लबहरुले मार्की बनाउन पाउने छन् ।
कुशल मल्ल बाहेक बाँकी सबै क्यानको ए श्रेणीमा रहेका खेलाडी हुन्। अब यी खेलाडीमध्ये एक जनालाई एउटा क्लबले मार्की खेलाडीको रुपमा अनुबन्ध गर्न पाउनेछ। एनपिएलका लागि यसअघि नै टिमको नाम घोषणा भइसकेको छ ।
फ्रेन्चाइज टिमहरुमा पोखरा, काठमाडौं, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णली छन्। टिमको फ्रेन्चाइज बेचेर क्यानले झण्डै १७ करोड रुपैयाँ आर्जन गरेको छ। प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुनेछ।
सन्दीप लामिछाने ए श्रेणीमा रहेको हुनुपर्नेमा यसअघी अन्यथा भएकाले सच्चाइएको छ -सम्पादक