काठमाडौं । ललितपुर क्विन्सले २०१९ दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई क्लबको गुडविल एम्बेसडरको रूपमा नियुक्त गरेको छ । ललितपुर निवासी आयशाले आफ्नो करियरमा देशका लागि धेरै पदक जितिसकेकी छन् ।
‘ललितपुर क्विन्ससँग आवद्ध हुन पाउँदा म असाध्यै खुसी छु,’ आयशाले भनिन्, ‘ललितपुरमा जन्मेर हुर्किँदै गर्दा यस उपत्यकासँग मेरो गहिरो आत्मीयता छ र आज ललितपुर क्विन्ससँग जोडिनु मेरो लागि सौभाग्य र गौरवको क्षण हो ।’ उनले भलिबल नेपालको लोकप्रिय खेल भएको र त्यसमा आफू जोडिन पाउँदा निकै उत्साहित बनेको बताइन् ।
आयशालाई टोलीमा स्वागत गर्न पाउँदा ललितपुर क्विन्स परिवारले खुशी व्यक्त गरेको छ । उनको उपस्थितिले खेलाडीहरूलाई प्रेरित गर्ने र हौसला थप उच्च ललितपुर क्विन्स परिवारको विश्वास छ ।
इन्फिनिटी ड्रिम्स प्रालिद्वारा यही असोज १४ देखि १९ गतेसम्म हुन गइरहेको वात्सल्य एभरेस्ट महिला भलिबलको पहिलो संस्करणमा ललितपुरको प्रतिनिधित्व ललितपुर क्विन्स भलिबल क्लबले गर्दै छ । राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठले टोलीको कप्तानी सम्हाल्नेछन् । टोलीको प्रशिक्षक उत्सव खड्का छन् ।