दर्शक छिर्ने मैदानमा बाढी छिरेपछि...

श्रावण २१, २०८१ |विनयज्योति सापकोटा
दर्शक छिर्ने मैदानमा बाढी छिरेपछि...

काठमाडौं । आगामी भदौ २ गतेदेखि नेपालमा साफ अन्डर ट्वेन्टी पुरुष साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताको अभ्यासका लागि च्यासल रंगशाला तयार पारिएको थियो । तर, यो रंगशाला बाढी पसेर प्रयोग नै गर्न नमिल्ने बनेको छ । गत वर्ष बाढी पस्दा पनि च्यासल रंगशाला लाखौँ खर्च गरेर बनाइएको थियो । अहिले त्यही अवस्था दोहोरियो । निर्माणदेखि नै प्राविधिक पक्षमा लापरबाही गरिँदा यो रंगशालामा बर्सेनि लगानी खेर गइरहेको छ ।

अखिल नेपाल फुटबल संघ-एन्फाले भदौ २ गतेदेखि हुने साफ अन्डर ट्वेन्टी फुटबल प्रतियोगिताका लागि च्यासल रंगशालालाई अभ्यास मैदानका रूपमा तयारी अवस्थामा राखेको थियो । तर, साउन १६ गते बिहान बाढी पस्दा रंगशालाको मैदान र अगाडिको भाग बिग्रिएको छ । अब यो मैदान खेल्नका लागि मात्र होइन, अभ्यास गर्नसमेत अयोग्य भएको छ ।

च्यासल रंगशाला दुई वर्षअघि हस्तान्तरण गर्ने तयारी भइरहँदा पनि बाढी पसेको थियो । जसका कारण महिला साफ च्याम्पियनसिपसमेत समयमा हुन पाएन । अहिले पनि महत्त्वपूर्ण प्रतियोगिता नजिकिइसक्दा मैदान बिग्रिएर कामै नलाग्ने भयो । मैदानको यो अवस्थाले खेलाडी र खेल पदाधिकारीसमेत चिन्तित छन् ।

यो रंगशालाको इन्जिनियरिङमै लापरबाही देखिएको छ । बागमती र मनोहरा खोलाको बहाव क्षेत्रमा निर्माण गरिए पनि पनि बाढी पस्न सक्ने विषयमा अध्ययन नै गरिएन ।

अहिले बल्ल खेल पदाधिकारीको आँखा खुलेको छ । यससम्बन्धी अध्ययन गर्न काम अघि बढाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । तर, अहिलेसम्म यो रंगशालामा गरिएको ठूलो लगानी बालुवामा पानीसरह भएको छ । विगतका त्रुटि सच्याउन सरकारले समयमै ध्यान नदिने हो भने नेपाली फुटबलले अझै घेरै घाटा बेहोर्ने पक्का छ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement