एसीसी महिला एसिया कपको फाइनलमा आयोजक श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्ने

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी महिला एसिया कपको फाइनलमा आयोजक श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । एसीसी महिला एसिया कप २०२४ को उपाधिका लागि आयोजक श्रीलंका र भारत प्रतिस्पर्धा गर्ने भएका छन् । हिजो सम्पन्न दोस्रो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको जित हासिल गरेको थियो ।

श्रीलंकाले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मुनिबा अलिले ३४ बलमा सर्वाधिक ३७ रन बनाउँदा अर्का ओपनर गुल फिरोजाले २५ रनको योगदान दिएकी थिइन् । श्रीलंकाका कविशा दिलहरी र उडिशिका प्रबोधानीले समान २-२ विकेट लिए ।

पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहँदै ७ विकेट गुमाएर पुरा गरेको थियो । उसका कप्तान चमारी अथापथ्थुले ६३ र अनुष्का सन्जिवनीले २२ बलमा २४ रनको योगदान दिएकी थिइन् । पाकिस्तानका लागि सादीया इकवालले ४ विकेट लिइन् ।

अब श्रीलंकाले आइतबार भोलि हुने फाइनल खेलमा साविक विजेता भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनल खेलमा बंगलादेशले दिएको ८१ रनको लक्ष्य ५४ बल बाँकी रहँदै विना कुनै विकेट गुमाएर पूरा गरेको थियो । भारतले ८ मध्ये ७ संस्करणको उपाधि जितेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement