पेरिस ओलम्पिक महिला फुटबलको उद्घाटन खेलमा क्यानडासँग न्युजिल्यान्ड पराजित

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिक महिला फुटबलको उद्घाटन खेलमा क्यानडासँग न्युजिल्यान्ड पराजित

काठमाडौं । डिफेन्डिङ च्याम्पियन क्यानडाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको उद्घाटन खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ ।

समूह एको खेलमा क्यानडाले न्युजिल्यान्डलाई २-१ ले हराएको हो । न्युजिल्यान्डले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न पुग्यो । 

खेलको १३ औँ मिनेटमा म्याकेन्जी ब्यारीले गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको अतिरिक्त समयमा क्लो लाकासेले गोल गर्दै क्यानडालाई खेलमा फर्काइन् । ७९ औँ मिनेटमा एभलिन भियन्सले गोल गरेपछि क्यानडाले विजयी सुरुवात गर्‍यो ।

न्युजील्यान्डको अभ्यास सत्रको भिडियो खिच्न ड्रोन प्रयोग गरेको भन्दै क्यानडाका २ कर्मचारीलाई घर फर्काइएको थियो भने मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानलाई मैदान बाहिर पठाइएको थियो । सहायक प्रशिक्षक एन्डी स्पेन्सले क्याडाको टचलाईन समाले । 

यस प्रकरणलाई लिएर क्यानडा सकरले स्वतन्त्र छानबिन सुरु गरेको छ भने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले अनुसन्धानात्मक कारबाही गर्ने बताएको छ ।  घर पठाइएका एक कर्मचारी  जोसेफ लोम्बार्डीलाई आठ महिनाको जेल सजाय सुनाइएको र उनका सामग्री जफत गरिएको फ्रान्सेली अदालतले जनाएको छ । 

यस्तै समूह सीमा विश्व च्याम्पियन स्पेनले जापानलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । १ गोलले पछि परेको स्पेनले पुनरागमन जित हासिल गरेको हो । स्पेनका लागी प्लेमेकर आइटाना बोनमाटीले एक गोल र एक असिस्ट गरिन् । ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्पेनको यो डेब्यु खेल थियो । 

समूह 'सी' को दोस्रो खेलमा ब्राजिलले नाइजेरियामाथि १-० को जित दर्ता गर्‍यो । छैटौँ पटक ओलम्पिक खेलिरहेकी ब्राजिलकी सर्वकालीन सर्वाधिक गोलकर्ता मार्टाको पासमा गाबी नुनेसले ३७ औँ मिनेटमा गरेको गोलनै ब्राजिलको जितका लागी पर्याप्त भयो । 

मारिना हेगेरिङ, ली शुएलर र जुले ब्रान्डको गोलमा जर्मनीले समूह बीको पहिलो खेलमा अस्ट्रेलियालाई ३-० ले पराजित गर्‍यो । यस्तै अमेरिकाले जाम्बियालाई ३-० तथा फ्रान्सले कोलम्बियालाई ३-२ ले पराजित गर्दै विजयी सुरुवात गरे ।

महिला हृयान्डबलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले हंगेरीलाई ३१-२८ र दक्षिण कोरियाले जर्मनीलाई २३-२२ ले पराजित गर्‍यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement