पेरिस ओलम्पिकको औपचारिक उद्घाटन आज

मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्ने
सुरक्षा व्यवस्था कडा
श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिकको औपचारिक उद्घाटन आज

काठमाडौं । ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदै छ । अबको दुई साता विश्वभरको ध्यान प्रेमको सहरले परिचित पेरिसमा केन्द्रित हुनेछ । तीन वर्षअघि नै पेरिस ओलम्पिक उद्घाटन समारोहलाई महत्त्वाकाङ्क्षी, ऐतिहासिक र दर्शनीय शब्दले व्याख्या गरिएको थियो । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सवमा फ्रान्सलाई एउटै चिन्ता छ- सुरक्षा । 

पेरिस ओलम्पिकमा फुटबल, रग्बीलगायतका खेल सुरु भइसकेका छन् । औपचारिक उद्घाटन भने आज हुन लागेको हो । ओलम्पिकको इतिहासमै पहिलो पटक उद्घाटन समारोह रंगशालाबाहिर खुला स्थानमा गरिंदै छ । आइफिल टावरसँगै रहेको सेन नदीको पूर्वी क्षेत्रबाट सुरु हुने परेडले ६ किलोमिटरको यात्रा तय गर्नेछ । १ सय ६० मध्ये ९४ डुंगामा खेलाडी सवार हुनेछन् । 

परेडको समयमा खेलाडीसँगै विभिन्न देशका डेलिगेट्स र कलाकार पनि रहनेछन् । रुस र बेलारुसका खेलाडी भने उद्घाटन समारोहमा सहभागी हुने छैनन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले युक्रेन युद्धका कारण यी दुई देशका खेलाडीलाई परेडमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको हो । तर व्यक्तिगत रूपमा भने रुस र बेलारुसका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

फ्रान्सलाई सबैभन्दा ठूलो चुनौती सुरक्षा हो । उद्घाटन समारोह मात्र होइन पुरै प्रतियोगिताभर अभूतपूर्व सुरक्षा व्यवस्था गर्ने दाबी सरकारको छ । आतंककारी आक्रमण, साइबर र ड्रोन आक्रमणको भय आयोजकलाई छ । सुरक्षालाई मध्यनजर गर्दै उद्घाटन समारोहमा उपस्थित दर्शकको सङ्ख्या घटाइएको छ ।

यसअघि ६ लाखले प्रत्यक्ष अवलोकन गर्ने बताइएको थियो । तर अब तीन लाख ३६ हजारले मात्र प्रवेश पाउनेछन् । जसमा दुई लाख २२ हजार आयोजकले निम्त्याएका पाहुना हुन् भने १ लाख ४ हजारले टिकट काटेका छन् । ८० भन्दा बढी ठूला स्क्रिनको पनि व्यवस्था गरिनेछ । उद्घाटन समारोहमा करिब एक सय २० देशका प्रमुखको उपस्थिति रहनेछ ।

फ्रान्सले खेल अवधिभर प्रत्येक दिन ३५ हजार प्रहरी सुरक्षाका लागि खटाउनेछ । उद्घाटन समारोहमा ४५ हजार सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्नेछन् । यसका साथै पेरिस आसपासमा दश हजार सैनिक तैनाथ गरिने भएको छ । फ्रान्सले अन्य देशबाट १ हजार ८ सय सुरक्षाकर्मी सहयोग लिएको छ । रोयटर्सका अनुसार सरकारले २० हजार निजी सुरक्षाकर्मी पनि ओलम्पिकका लागि छुट्याएको छ ।

स्थानीयले ओलम्पिक अवधिभर पेरिस आसपास आवत-जावत गर्न क्यू आर कोड प्रयोग गर्नुपर्ने छ । पेरिसले तेस्रो पटक ओलम्पिक आयोजना गर्दै छ । यो पटक फ्रान्सले सात दशमलव ६ बिलियन पाउन्ड खर्च गरेको जनाएको छ । वातावरणमैत्री खेल संरचना निर्माण गरेको दाबी गरिएको ओलम्पिकमा २ सय ६ देशका १० हजार ५ सय एथ्लिटले प्रतिस्पर्धा गर्नेछन् ।

यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

स्थानीय समयअनुसार साँझ साढे सात बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि सुरु हुने उद्घाटन समारोहमा ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement