काठमाडौं । एसीसी महिला एसिया कपको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले ११ दशमलव ५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । पाकिस्तानको जितमा गुल फिरोजले अर्धशतकीय पारी खेलिन् । उनले ३५ बलमा १० चौकाको मद्दतले ५७ रन बनाएर कविता जोशीको बलमा आउट भइन् । यस्तै मुनेवा अलीले ३४ बलमा ४६ रन बनाइन् । तोबा हसन १ रनमा नटआउट रहिन् ।
श्रीलंकाको रागिंरी दाम्बुला इन्टरनेसनल स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो ।
नेपालले पावर प्लेमा तीन विकेट गुमाएर ३० रन जोड्यो । पहिलो ओभरमै नेपालले ओपनर सम्झना खड्कालाई गुमाएको थियो । युएईविरुद्ध ७२ रन बनाएकी सम्झना आज भने सस्तैमा पभेलियन फर्किएकी हुन् । उनले मात्र ४ रन जोडिन् । उनको स्थानमा आएकी कविता कुँवरले बाउन्ड्री प्रहार गर्दै आश जगाएकी थिइन् । तर पाँचौं ओभरमा १३ रन बनाएकी कवितालाई सादिया इकबालले आउट गरिन् । यही ओभरमा नेपालले अर्को विकेट गुमायो । कप्तान इन्दु बर्मा शून्यमा मैदान बाहिरिएकी हुन् ।
रुबिना क्षेत्री चौका प्रहार गरेपछिको दोस्रो बलमा रन आउट भइन् । उनले ८ रन बनाएकी थिइन् । सीता रानामगर २६ र पूजा महतो २५ रनमा रन आउट भए । कविता जोशीले एक छक्काको मद्दतमा २३ बलमा ३१ रनको योगदान गरिन् ।
नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । पहिलो खेलमा पाकिस्तानले भारतसँग पराजय बेहोरेको थियो ।