ओलम्पिकका लागि पेरिसको सेन नदी स्वच्छ रहेको सन्देश दिन फ्रान्सकी खेलकुदमन्त्री आफैँले खेलिन् पौडी

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओलम्पिकका लागि पेरिसको सेन नदी स्वच्छ रहेको सन्देश दिन फ्रान्सकी खेलकुदमन्त्री आफैँले खेलिन् पौडी

काठमाडौं । फ्रान्सकी खेलकुदमन्त्री आमिली उडेया-कस्टेगाले सेन नदीमा हामफालेर पौडी खेलेकी छन् । उनले ओलम्पिक खेलकुदको लागि पेरिसको सेन नदी स्वच्छ रहेको सन्देश दिन पौडी खेलेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यही जुलाई २६ मा सुरु हुने ओलम्पिक अगस्ट ११ तारिखमा सकिँदै छ । सो प्रतियोगिताको ट्रायाथलन र पौडी म्याराथनको प्रतियोगिता यही सेन नदीमा हुने उल्लेख छ । यसैको लागि मन्त्रीले नदी स्वच्छ भएको जानकारी फैलाउन पौडी खेलेको बताइएको छ । उनले इन्भालिड पुल र अलेक्जेन्डर तेस्रो पुलको बीचमा पौडी खेलेकी हुन् ।

पौडी खेलिसकेपछि सेन नदी सुन्दर रहेको र पानी पनि ठिक रहेको उनले प्रतिक्रिया दिइन् । यो नदीमा सन् १९०० को पेरिस ओलम्पिकमा पनि पौडीका प्रतियोगिता आयोजना गरिएको थियो । अहिले पेरिसका मेयर एन्नी हिडाल्गोले नदी सफा गर्ने अभियान चलाइरहेका छन् । उनले पनि सेन नदीमा पौडी खेल्ने बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.