काठमाडौं । शारीरिक रूपमा अपाङ्गता वा विशेष क्षमता भएका व्यक्तिले खेल्ने खेल हो - पारा खेलकुद । पारा खेलकुद एसियन गेम्सदेखि ओलम्पिकसम्मै समावेश छ । मंसिरमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएलगत्तै पारा खेलकुद गर्ने राखेपको तयारी छ । तर, जसरी तयारी गरिएको छ, त्यो भने पर्याप्त छैन । अरू त अरू खेल पूर्वाधारसमेत पारा खेलाडीमैत्री छैनन् ।
नेपालमा आधिकारिक रूपमा पारा खेलकुदको सुरुवात २०५३ सालमा भएको हो । पारा खेलकुदसँग सम्बन्धित खेल संस्था राखेपमा दर्ता छन् । खेल संघ दर्तासँगै पारा खेलाडीहरूको सङ्ख्या पनि बढिरहेको छ । तर, अहिलेसम्म पारा खेलमैत्री संरचना निर्माण भने हुन सकेको छैन ।
साधारण खेलाडीले खेल्ने पूर्वाधारमै पारा खेलाडीले पनि खेल्नुपर्ने बाध्यता छ । पूर्वाधार मात्रै होइन, पारा खेलाडीका लागि किट्स र खेल सामग्री पनि भिन्न हुन्छ । तर नेपाली खेलाडीले त्यस्तो सुविधा खासै पाउन सकेका छैनन् ।
नेपालमा पारा खेलको सुरुवात नहुँदै सन् १९७५ मा जापानमा भएको एथलेटिक्स प्रतियोगितामा सूर्यकुमारी गुरुङले स्वर्ण जितेर पारा खेलाडीले पनि देशका लागि पदक जित्न सक्छन् भन्ने प्रमाणित गरेकी थिइन् । टोक्यो ओलम्पिकमा वाइल्ड कार्डबाट छानिएकी पलेसा गोबर्धनले यसपालि एसियाली छनोट पार गर्दै पेरिस पारा ओलम्पिकको यात्रा तय गरिसकेकी छन् । तर, नीति निर्माण तहमै पारा खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको यस क्षेत्रका व्यक्तिहरूको बुझाइ छ ।
पारा खेलका खेलाडीको सपना पनि देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने नै हुन्छ । तर उनीहरूलाई पूर्वाधार, खेल सामग्री र म्याच एक्सपोजरकै कमी छ । राखेपको आयोजनामा हालै सम्पन्न पारा तथा विशेष खेलकुद प्रतियोगितापछि यसले पनि अब महत्त्व पाउँछ कि भन्ने आशा पलाएको छ ।
राखेपले आयोजना गरेको पारा तथा विशेष खेलकुदमा क्रिकेट, एथलेटिक्स, टेबलटेनिस, बोसिया, भारोत्तोलन, पौडी लगायत १३ खेलमा खेलाडीले प्रतिस्पर्धा गरे । तर, महत्त्व, दर्शक तथा व्यवस्थापनका हिसाबले भने त्यो प्रतियोगिता निकै फितलो देखियो । नेपाललाई पदक दिलाउने सम्भावना भएकाले पारा खेलमा सरकारी तवरबाटै ध्यान पुग्नु आवश्यक छ ।