अपाङ्ग महिलालाई ४९ वर्षको उमेरमा घरमै पुगेर नागरिकता वितरण

जेष्ठ १४, २०८२ |नवराज श्रेष्ठ
अपाङ्ग महिलालाई ४९ वर्षको उमेरमा घरमै पुगेर नागरिकता वितरण

रामेछाप । जिल्लामा एक अपाङ्ग महिलालाई रामेछाप प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। मन्थली नगरपालिका-१३ की ४९ वर्षकी शान्ति बुढालाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्वयं घरमै पुगेर मंगलबार नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। 

उहाँको जन्म मिति २०३३ साल माघ १० गते हो। शारीरिक रूपमा अशक्त शान्ति बुढा नागरिकता लिन जिल्ला प्रशासन कार्यालयसम्म जान सक्ने अवस्थामा हुनुहुन्न। नागरिकता नहुँदा उहाँ सामाजिक सुरक्षा, उपचार सुविधा र राज्यका अन्य सेवाबाट वञ्चित हुनु परेको थियो। 

उक्त अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापको टोली शान्तिको घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “कोही पनि नागरिक नागरिकता बिना राज्यका अधिकारबाट बञ्चित हुनु हुँदैन। अपाङ्गता वा विशेष अवस्थाका व्यक्तिहरूसम्म सेवा पुर्‍याउनु प्रशासनको उत्तरदायित्व हो।”

नागरिकता प्राप्त भएपछि आफूहर"लाई राज्यको नागरिक भएको अनुभूति भएको भन्दै बुढाको परिवार खुसी भएका छन ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।