१९.३ ओभरमा बंगलादेश अल आउट, नेपालले पायो १ सय ७ रनको लक्ष्य

नेपालको उत्कृष्ट बलिङ, टेस्ट राष्ट्रलाई हराउने नेपालको अवसर
सन्दीप लामिछाने बने टी-ट्वेन्टी आईमा १०० विकेट लिने पहिलो नेपाली खेलाडी
असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
१९.३ ओभरमा बंगलादेश अल आउट, नेपालले पायो १ सय ७ रनको लक्ष्य

सेन्ट भिन्सेन्ट । आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत जारी खेलमा बंगलादेश १ सय ६ रनमा अल आउट भएको छ । १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै टेस्ट टोली बंगलादेशले नेपाललाई १ सय ७ रनको सामान्य  लक्ष्य प्रस्तुत गरेको छ ।

अर्नोस भेल मैदान, किंग्सटाउन, सेन्ट भिन्सेन्टमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । बंगलादेशले निर्धारित २० ओभरमा ३ बल बाँकी रहँदै सबै विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो । 

नेपालका सोमपाल कामीले इनिङको पहिलो बलमै बंगलादेशी ओपनर तान्जित हसनलाई बाहिर पठाए । कप्तान नजमुल हुसेन शान्तो ४ रनमा दीपेन्द्रसिंह ऐरीका बलमा बोल्ड भए । १० रन बनाएका लिट्टन दासलाई सोमपालले पेबलियन फर्काए । तौहिद हि्रदोय ९ रनमा कप्तान रोहित पौडेलको सिकार भएपछि पावरप्लेमा बंगलादेश ३१ रनमा ४ विकेट गुमाएको दयनीय अवस्थामा पुग्यो ।

अनुभवी खेलाडी महमुदुल्लाह र शाकिब अल हसनको प्रदर्शन पनि निराशाजनक रह्यो । महमुदुल्लाहल ९ र शकिबले सर्वाधिक १७ रन बनाए । तन्जिम हसन साकिब सन्दीप लामिछानेको बलमा बोल्ड भए । जाकर अलीलाई बोल्ड गर्दै सन्दीपले ५४ इनिङमा १ सय टी-२० आई विकेट पूरा गरे । टी-२० क्रिकेटमा सबै भन्दा छिटो १ सय विकेट लिने बलरको सूचिमा सन्दीप दोस्रो स्थानमा छन् । 

अफगानिस्तानका राशिद खानले यो उपलब्धि ५३ खेलमा पूरा गरेका छन् । रिशाद हुसेन १३ र मुस्ताफिजुर रहमान ३ रनमा आउट भए । तस्किन अहमद १२ रनमा अविजित रहे । यससँगै सन्दीप लामिछाने नेपालको लागि टी–ट्वेन्टी आईमा १०० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

नेपालका लागि सोमपाल, दीपेन्द्र, रोहित र सन्दीपले २-२ विकेट बाँडे । नेपालले अहिले जवाफी ब्याटिङ गर्दै १ दशमलव ३ ओभरमा पाँच रन बनाएको छ ।

नेपालले आज करण केसीलाई आराम दिँदै सन्दीप जोरालाई अवसर दिएको छ । दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई पराजित गर्दै जितसहित विश्वकप समाप्त गर्ने अवसर छ ।

बंगलादेशलाई भने दोस्रो चरणमा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाब छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.